१६ जेठ, दमक ।

तारा एयरको विमान दुर्घटना प्रकरण छानबिन गर्न सरकारले सोमबार ५ सदस्यीय आयोग गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक ड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरुमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन् ।
विमान दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्न आयोगलाई कार्यादेश प्रदान गरिएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
दुर्घटनाको कारण : मौसमको खराबी
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको बताएका छन् ।
विमान दुर्घटनाको प्रारम्भिक कारण मौसमको खराबी नै भएको अधिकारीको भनाइ थियो ।
उनले सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा दुर्घटनाग्रस्त विमानका बारेमा समितिलाई जानकारी गराएका थिए ।
अधिकारीका अनुसार खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताएका हुन् ।
आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाइन ट्वीनअटर विमान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका २ मा पर्ने मानापाथी हिमालको फेदी (सानुसरे १४, ५०० फिट)मा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान ८ बजेपछिको समयमा फेला परेको थियो ।
पोखरा विमानस्थलबाट ९ः५५ बजे जोमसोमको लागि उडेको विमान १०ः०७ बजेबाट सम्पर्कविहीन भएलगत्तै खोजी कार्य सुरु गरिएको थियो । तर, खराब मौसमका कारण आइतबार दिनभर हेलिकप्टरसहित खोजी कार्य गर्दा पनि विमानको अवस्था पत्ता लागेको थिएन ।
दुर्घटनामा विमानमा रहेका ६ विदेशी नागरिकसहित २२ जनाको मृत्यु भएको थियो ।
यसैबीच विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये १० जनाको शव सोमबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत शव काठमाडौं ल्याई पोष्टमर्टमको लागि टिचिङ अस्पताल पुर्याइएको हो ।


