१ असार, दमक ।

नेपालमा सर्वाधिक विवादित बनेपछि अमेरिका स्टेट पर्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्तावबाट पछि हटेको छ ।
स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे विभिन्न फोरमदेखि संसदसम्म बहस चर्किएसँगै त्यसको अत्यधिक विरोध हुन थालेपछि अमेरिकाले सो सम्झौता बारे अनलाइन मिडियाहरुमा आएका कुरा सत्य नभएको दावी गरेको हो ।
हालैमात्र अमेरिकी सेनाका चार तारे जर्नेल, इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनको नेपाल भ्रमणसँगै एसपीपीको विषय सहतमा आएपछि यसलाई कतिपयले ‘इन्डोप्यासिफिक स्ट्राटेजी’ सँग जोडेर व्याख्या गरेका छन् ।
त्यस्तै गत जेठ पहिलो साता अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उग्रा जियाको नेपाल भ्रमणसँगै जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण र त्यहाँ रहेका शरणार्थीहरुसँग अन्तरक्रिया गरेको विषयले पनि नेपालको परराष्ट्र नीतिमाथि प्रश्न उठेको थियो ।
नेपालले अमेरिकी अनुदानका रूपमा भित्र्याइएको विवादास्पद एमसीसी परियोजना अनुमोदनसँगै एक चीन नीतिलाई प्रथमिकता दिन छाडेको आरोपसमेत लाग्न थालेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत भनेको छ –‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो ।’
मंगलबारदूतावासले गरेको ट्वीटमा भनिएको छ –‘अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन । तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ ।’
दूतावासले २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको जनाएको छ । आँधबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा एसपीपीमार्फत सहकार्यको सहजीकरण हुने गरेको दूतावासको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण बारे पनि पछिल्ला अमेरिकी गतिविधिले अनेक प्रश्न उठाइदिएको कुटनीतिक मामिलाका जानकारहरुको दावी छ । प्रधानमन्त्री देउवासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासमेत भ्रमण दलमा सामेल हुने भएपछि नेपालको सामरिक सुरक्षा चासोका विषयलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।