२ असार, दमक ।

प्रदेश नम्बर १ सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन् ।
मन्त्री आङ्बोले अघिल्लो वर्षको भन्दा झण्डै २१ प्रतिशत अर्थात ७ अर्ब ठूलो बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान फिर्ता २ अर्ब रुपैयाँ रहेको बजेट वक्तव्यमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ प्रदेश सरकारको आन्तरिक राजश्व मध्ये ४ अर्ब ९८ करोड ४५ लाख, राजश्वको बाँडफाँटबाट ११ अर्ब ८८ करोड २१ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, ससर्तबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च बेहोरिने मन्त्री आङ्बोको भनाइ छ ।
बजेटमा अपुग रकममध्ये नगदबाट ३ अर्ब ५५ करोड र वैदेशिक २५ करोड ६८ लाख रुपैयाँ बेहोरिने छ ।
प्रदेश सरकारले आन्तरिक आम्दानी बढाउन विशेष ध्यान दिने भन्दै मन्त्री आङ्बोले कोरोनाको असर र रुस–युक्रेन युद्धका कारण वित्तीय क्षेत्रका अुनमान फरक परेको जिकिर गरे । उनले प्रदेश योजना आयोगमार्फत प्रदेशको समग्र अर्थतन्त्रको अवस्था बारे अध्ययन गराउने बजेट भाषणमै घोषणा गरेका छन् ।
गठबन्धन सरकारको बजेट, नीति तथा कार्यक्रम बारे प्रतिपक्षी दल नेकपा एमालेले भने अमिल्दो टिप्पणी गरेको छ ।
प्रदेश १ प्रदेश सभा संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री एवम् एमाले नेता भीमप्रसाद आचार्यले अहिलेको सरकारले ल्याएको बजेटलाई हावादारी र निर्वाचनमुखी भएको टिप्पणी गरेका हुन् ।
आचार्यले भनेका छन् –‘कुनै तयारी बेगर हचुवाका भरमा बजेट आएको प्रदेशबासिका लागि कुनै परिवर्तन हुँदैन ।’
लक्ष्य अनुसार राजश्व संकलन हुन नसक्ने भन्दै उनले कार्यकर्ता पोस्नका लागि मात्रै बजेट ल्याएको आरोप लगाएका हुन् ।
आचार्यले बजेटमा ठूला योजना टुक्रा पारिएको र महत्वपूर्ण योजनालाई प्राथमिकतामा नराखी चुनाव लक्षित बजेट ल्याइएको टिप्पणी गरे ।

