२ असार, काठमाडौं ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा चाँडै निष्कर्षमा पुग्नुपर्ने धारणा विभिन्न पत्रकारजन्य संगठनका नेताहरुले बताएका छन् ।
बिहीबार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले आयोजना गरेको ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थापक अध्यक्षको विषयमा छिट्टै निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको विधानले २०१२ साल चैत १६ गतेको अविच्छिन्नतालाई मान्ने भए पनि संस्थापकका विषयमा अनुसन्धान र अध्ययनका लागि महासंघ खुला रहेको धारणा राखे ।
तत्कालिन नेपाल पत्रकार संघ २००८ सालमा स्थापना भएको सही भएको र त्यतिबेलाका सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको विभिन्न लिखत र दस्तावेजले प्रष्ट गरे पनि महासंघले अझै त्यसलाई स्वीकार नगरेको पोखरेलको भनाइ थियो ।
महासंघको विधानले संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने पनि उहाँको कार्यकाल २०१२ सालबाट शुरुभएको पोखरेलले स्पष्ट पारे ।
फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहासको सम्मान सबैले गर्नुपर्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य सही हुँदाहुँदै महासंघले अझै स्वीकार नगर्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरे । संस्थापकको सम्मान नगरिए त्यसको कडा प्रतिवाद गरिने गुरुङको भनाइ थियो ।
फोनिजका सल्लाहकार खिम घलेले संस्थापकको विषयलाई जति छिटो टुङ्गोमा पुगाउन सक्यो त्यति सहज हुने भन्दै कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्नुको कारणबारे महासंघ आफै प्रष्ट नभएको जिकिर गरे ।
फोनिजका अध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको लिखतले बोल्ने गरेकाले तथ्यलाई स्वीकार गरी अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए । राईले आम सञ्चार प्रतिष्ठान गठनमा भने फोनिजको सहयोग रहने स्पष्ट पारे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले पूर्व प्रधानमन्त्री भट्टराईप्रति सबै नेपालीको उच्च सम्मान रहेपनि महासंघको संस्थापक अध्यक्ष उहाँ नरहेको राईले ठोकुवा गरे ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले नेपाली पत्रकारिता र राजनीतिक क्षेत्रमा कृष्णप्रसाद भट्टराई परिवारको उच्च योगदान रहेकाले सम्मान गर्नुपर्ने बताए ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले महासंघ गठनको लामो इतिहास नरहेकाले अध्ययन गरेर छिनोफानो लगाउन सहज रहेको बताए । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन कृष्णप्रसाद भट्टराईको नाम नजोडेर पनि गर्न सकिने धारणा राखे ।
प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्यालले प्रतिष्ठान गठनलाई स्वागत गरिनुपर्ने तर संस्थापक अध्यक्ष श्रेष्ठ रहेको तथ्यलाई अवमूल्यन गरेर जान नसकिने धारणा राखे ।
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का अध्यक्ष संगीता लामाले लिखतमा संस्थापक अध्यक्ष श्रेष्ठ भएको स्पष्ट रहेकाले त्यस विषयमा थप अध्ययन गरेर टुङ्गोमा पुग्न ढिलाई गर्न नहुने बताइन् ।
सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले संस्थापकको विषय गम्भीर विषय भएकाले अध्ययन गरेर निस्कर्षमा पुग्नुपर्ने भन्दै अहिलेसम्मका विभिन्न दस्तावेजले श्रेष्ठलाई नै संस्थापक अध्यक्ष रहेको उल्लेख गरेकाले तथ्यलाई स्वीकार गर्नुको विकल्प नरहेको जिकिर गरिन् ।
फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्थापक वहस विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
महासचिव मिलन लिम्बूको सञ्चालन रहेको कार्यक्रममा फोनिजमा आवद्ध जातीय पत्रकार संघका पदाधिकारी, सदस्य तथा सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
तत्कालिन नेपाल पत्रकार संघको स्थापना श्रेष्ठको सभापतित्वमा २००८ मा भएको थियो । २००९ सालमा पुनर्गठन भएको संघमा पनि पुनः श्रेष्ठ नै सभापति थिए भने भट्टराई २०१२ साल चैत १६ गते पुनर्गठित संघको सभापति हुन् ।


