adv

प्रदेशको नाम पहिचानकै आधारमा : मुख्यमन्त्री राई

२ असार, दमक ।

धिमाल समुदायको जातिरी पर्व समापनमा मन्तव्य राख्दै मुख्यमन्त्री राई ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्दकुमार राईले प्रदेश १ को पहिचान आदिवासी र जनताजाति नै भएकाले पहिचानकै आधारमा प्रदेशको नामाकरण गरिने बताएका छन् ।

बिहीबार उर्लाबारीमा धिमाल समुदायको जातिरी/सिर्जात पर्वको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

राईले भने –‘यो प्रदेशको पहिचान भनेकै आदिवासी जनजाति समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा हो त्यसैले प्रदेशको नाम पनि पहिचान सहितकै हुन्छ ।’

मुख्यमन्त्री राईले धिमाल जातीको संस्कार र सस्कृतिलाई प्रदेशको सम्पत्तिको रूपमा लिएर यसको प्रवद्र्धन गर्ने काममा प्रदेश सरकारले सहयोग गर्नेसमेत वचन दिए ।

हरेक वर्ष वैशाख २ गते जातिरी/सिर्जात पर्व मोरङको लेटाङ–१ भोगटेनीस्थित राजारानी महाराजस्थानमा पूजाआजा गरेपछि सुरु हुन्छ भने असार २ गते समापन हुन्छ ।

जातिरी परम्पराअनुसार बिहीबार उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरमा मेलासँगै औपचारिक कार्यक्रम गरी जातिरी समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री राईसहित प्र्रदेश सदस्य कुलप्रसाद साम्बा, धिमाल जातीय विकास केन्द्रका संस्थापक एवम् पूर्व अध्यक्ष रामबहादुर धिमाल, संस्थापक तथा सल्लाहकार मोहन धिमाल, संस्थापक गणेशमान धिमाल, उर्लाबारीस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि भएका थिए ।
कार्यक्रममा यस वर्षको धिमाल युवा प्रतिभा–२०७९ उर्लाबारी निवासी ललित धिमाललाई प्रदान गरिएको छ । उनलाई नगद ५ हजारसहित र सम्मान–पत्र प्रदान गरिएको थियो ।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसंख्यक धिमाल समुदायको जातिरी/सिर्जात पर्व अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको थियो ।

यस वर्ष जातिरी उल्लासमय रूपमा मनाइएको धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालले जानकारी दिए ।

जातिरी समापनका दिन स्थानीय तहहरुमा बिदासमेत तोकिएको थियो । स्थानीय विदा घोषणा गर्ने पालिकाहरुमा झापाको दमक नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका र पथरी–शनिश्चरे नगरपालिकाले असार २ गते बिहीबार जातिरी पर्वको अवसरमा स्थानीय बिदा घोषणा गरेको हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु