३ असार, दमक ।

गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा बुथ कब्जा भएको भन्ने विवादका कारण रोकिएको बाजुरा जिल्लास्थित बुढीगंगा नगरपालिकाको मतदान कार्य आउँदो असार २३ गते हुने भएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीबाट प्राप्त जानकारीअनुसार त्यहाँस्थित सर्वदलीय बैठकले असार २३ मा स्थानीय चुनाव सम्पन्न गर्ने सहमति गरेको हो ।
बिहीबारको सर्वदलीय सहमतिको निर्णयअनुसार निर्वाचन अधिकृत कार्यालयले आधिकारिक रूपमा निर्वाचनको मिति तोकिसकिएको छ ।
वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा’ भएको भन्दै निर्वाचन आयोगले पुनः निर्वाचनको घोषणा गरेको थियो ।
बुढीगंगा नगरमा प्रमुख पदका लागि नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँले उम्मेद्वारी दिएका थिए । त्यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का र कांग्रेसकी रिता शाही शाहले उम्मेदवारी दिएका थिए ।
यसअघि स्थागित भएको निर्वाचन सम्पन्न गर्ने बारे दलहरूबीच सहमति नहुँदा मिति टुङ्गो लागेको थिएन ।

