adv

डा. भम्पा राईको निधन, भुटान फर्कने सपना अधुरै

५ असार, दमक ।

डा. भम्पा राई ।  फाइल तस्वीर ।

भुटानी शरणाथी नेता डाक्टर भम्पा राईको आइतबार बिहान निधन भएको छ ।

७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शनिबार दिउँसो ३ बजेतिर एक्कासी मुटुको चाल कम भएपछि राईलाई तत्काल दमकस्थित लाइफालाइन अस्पताल लगिएको थियो ।

त्यहाँका चिकित्सकहरुले उनलाई विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् ।

राईको पाँच दिन अघि मात्रै लाइफलाइनमा हर्नियाको शल्यक्रिया गरिएको थियो ।

दुई वर्षअघि पत्नी उर्मिला श्रेष्ठको निधन भएपछि राई दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए । करिब २ महिनाअघि मात्रै दमक नगरपालिकाले उनलाई बस्नका लागि निःशुल्क आवासको व्यवस्था गरिदिएको थियो ।

दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा ३ कोठा र किचनसहितको फ्ल्याट उपलब्ध गराइएपछि राई सो फ्लाटमा गत जेठ १३ देखि बस्दै आएका थिए ।

तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको जोखिमपूर्ण शल्यक्रिया गरिएको थियो । उनी एक दशकअघिदेखि कलेजो सम्बन्धी रोगबाटसमेत पीडित थिए ।

राईको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राईको निधनसँगै अब भूटानी शरणार्थीहरुको स्वदेश फर्कने सपनामा तुषारापात भएको छ ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । उनीहरु सबै जनाको नेपालमा नै निधन भएको थियो ।

तीन दशक लगातार भुटानी शरणार्थी तथा स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका राई दम्पत्तीका सन्तान थिएनन् ।

उनले सन् १९९० को दमकमा १ लाख भन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका मात्रै थिएनन् । शरणार्थी सम्बन्धी राष्ट्रिय संघीय उच्च आयोज युएनएचसिआरलाई भूटानी शरणार्थीको गास, बास, कपासको जिम्मेवारीका लागि राजी गराएका थिए ।

शरणार्थी समस्या समाधानका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रम सफल भए पनि राईले त्यसलाई स्वीकार गरेनन् । उनले बाँचुन्जेल भूटान फर्कन पाउनु पर्ने अडान कायम राखिरहे । तर, उनको त्यो अडान र सपना साकार भने हुन सकेन ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु