८ असार, दमक ।
भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मंगलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेको खबर छ ।
गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले पुष्टि गरेको छ ।
भुपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन आवश्यक गृहकार्य बारे दुई पक्षबीच छलपल भएको बताइएको छ ।
दूतावासका उपनियोग प्रमुख रोशन खनालका अनुसार वार्तासँग सम्बन्धित बहुपक्षीय छलफल र वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेकोे थियो ।
वार्ताको मिति तोक्ने विषयमा भने बेलायती पक्षले आवश्यक तयारी गरेर नेपाली दूतावासलाई जानकारी गराउने सझदारी भएको बताइएको छ ।
छलफलमा उप नियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ ।