९ असार, जनकपुरधाम ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान प्रविधिमा पछाडि पर्नुको दोष केन्द्रीय सत्तालाई दिएका छन् ।
जनकपुरधाममा बिहीबार सुरु दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारको केन्द्रिकृत मानसिकतामा परिवर्तन नआउँदा मधेस प्रदेशलगायत अन्य प्रदेशहरुले पनि विज्ञान प्रविधिको क्षेत्रमा विकास गर्न नसकेको आरोप लगाएका हुन् ।
राउतले भने –‘विज्ञान प्रविधिमा पछाडि पर्नुको मूल कारण केन्द्रीकृत मानसिकता हो । प्रदेश निर्माण भइसक्दा पनि संघले अधिकार दिनमा कञ्जुस्याईं गरिरहेको छ । जसले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ति गर्न केही समय अझै लाग्छ ।’
मुख्यमन्त्री राउतले आजको युगमा विकासको मूल आधार नै विज्ञान प्रविधिको विकास रहेको भन्दै विज्ञानको अध्ययनले कुनै पनि समाजको गरिबी हटाउन सकिने दावी गरे ।
नेपाल जस्तो आर्थिक रुपले पछाडि परेको देशको विकासको मुहान नै विज्ञानको विकासले मात्रै नेपाल जस्तो गरिब मुलुकको समस्या समाधान गर्न सकिने उनको धारणा थियो ।
मधेस प्रदेशको लक्ष्य नै विज्ञान प्रविधिको विकास र स्थानीयस्तरको प्रविधिको अनुसन्धान गर्नु रहेको भन्दै मुख्यमन्त्रीले यो विकासलाई मूलधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षामा अध्ययन गर्ने छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको बताए ।
युवा परिषद नेपालको आयोजनामा जनकपुरधाममा सुरु २ दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन भोलि शुक्रबारसम्म चल्ने छ ।

