adv

पेट्रोलियम पदार्थमा लिइने करमा ५० प्रतिशत कटौती गर्न सरकारलाई निर्देशन

१० असार, दमक ।


पेट्रोलियम पदार्थको खरिदमा विभिन्न शीर्षकमा लिइने करमा ५० प्रतिशत कटौती गर्न प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदमा लिइने करमा ५० प्रतिशत कटौती गर्न निर्देशन दिएको हो ।

हाल सरकारले विभिन्न ६ वटा शीर्षकमा गरी कुल ६५ रूपैयाँ ६१ पैसा कर लिँदै आएको छ ।

सरकारले २५ रूपैयाँ २३ पैसा सवारी भन्सार तथा प्रज्ञापन पत्र शुल्क, ४ रूपैयाँ सडक मर्मत कर, १ रूपैयाँ ५० पैसा प्रदूषण कर, १० रूपैयाँ पूर्वाधार कर, २२ रूपैयाँ ८९ पैसा मूल्य अभिवृद्धि कर, १ रूपैयाँ ९९ पैसा मूल्य स्थिरीकरण कोष शुल्क लिँदै आएको छ ।

समितिको निर्देशन बमोजिम अब सरकारले ३२ रूपैयाँ ८० पैसा मात्र कर लिनुपर्ने आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ५० प्रतिशत कर घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ रूपैयाँ दुई पैसादेखि १ सय ७९ रूपैयाँ ७८ पैसा मात्र पर्न सक्ने प्रवक्ता उपाध्यायको भनाइ छ ।

निगमले हाल १ सय ३१ रूपैयाँ ९१ पैसामा भारतीय आयल कर्पोरेसनबाट पेट्रोल किनिरहेको छ । उपभोक्तालाई पेट्रोल प्रतिलिटर १ सय ९९ रूपैयाँमा बिक्री गर्दा १३ रूपैयाँ ५८ पैसा घाटा भएको निगमको भनाइ छ ।

समितिको निर्देशनअनुसार कर घटेमा डिजेल खरिदमा उपभोक्तालाई हालको मूल्यमा २४ रूपैयाँ ७६ पैसा सस्तो पर्नेछ । हाल डिजेलमा ४९ रूपैयाँ ५३ पैसा कर लाग्दै आएको छ ।

खाना पकाउने एलपी ग्यासमा सरकारले तोकेको ३ किसिमका कर तथा शुल्कअन्तर्गत ३ सय २० रूपैयाँ ८४ पैसा तिर्नुपर्दछ । ५० प्रतिशतले कर घटेमा १ सय ६० रूपैयाँ मात्रै कर लाग्ने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु