१२ असार, दमक ।

इलामको माङसेबुङ २ मा बोलेरो जीप दुर्घटना हुँदा शनिबार ३ जनाको ज्यान गएको छ ।
माङसेबुङ २ को दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शनिबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा पाँचथर मिक्लाजुङ गाँउपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ ।
हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको बताइएको छ ।
बोलेरो चालक तत्काल फरार रहेकाले उनको खोजी जारी रहेको र घटना बारे थप अनुसन्धन जारी रहेको प्रहरीको भनाइ छ ।

