adv

जसपाभित्रको विवाद बाहिरियो

  • डा. भट्टराई समूहले पार्टी विरोधी गतिविधि गरेको आरोप

१२ असार, दमक ।

सोमबार जसपा अध्यक्ष यादवलाई ध्यानाकषण पत्र बुझाउँदै केन्द्रीय नेताहरु ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)भित्रको पार्टी विवाद भुस झैं भित्रैभित्रै सल्किरहेको तथ्य बाहिर आएको छ ।

जसपाभित्र विभिन्न प्रयोजनका लागि भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षर संकलन थालेको र उक्त गतिविधि पार्टी कब्जा वा विभाजनतर्फ केन्द्रित रहेको सो पार्टीका केन्द्रीय सदस्य र संघीय परिषद्का सदस्यहरुले आरोप लगाएका छन् ।

डा. भट्टराई समूहले थालेको केन्द्रीय सदस्यहरुको हस्ताक्षर अभियानको ठोस प्रयोजन नखुलेको भन्दै यस किसिमका गतिविधि रोक्न माग गर्दै जसपाका केन्द्रीय सदस्यहरु जुद्ध ढाक्रे, सन्तोष सिलवाल, अर्जुन थापा, पूर्णबहादुर बस्नेत, विरेन्द्र प्रधान, पेशल ढकाल, प्रचण्ड पौडेलले ध्यानाकर्षण पत्रमार्फत जसपा अध्यक्ष उपेन्द्र यादवलाई ठोस कदम चाल्न दवाव दिएका हुन् ।

उनीहरुले आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष यादवलाई ध्यानाकर्षपत्र बुझाएका हुन् ।

ध्यानाकर्षण गराउनेहरुमा संघीय परिषद् सदस्यहरु धनबहादुर तामाङ, रोजबहादुर मोक्तान, दुर्गामणि सुवेदी, राजेश लोहनी र दिलिपकुमार यादवको हस्ताक्षर छ ।

भट्टराई समूहले हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुलाई सुरुमा बैठक माग गर्न भन्दै हस्ताक्षर गराउने गरेको बताए पनि यस अभियानको भित्री उद्देश्य बहुमत पुगे पार्टी कब्जा गर्न, बहुमत नपुगे ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्ने रहेको आरोप ध्यानाकर्षणकर्ता मध्येका एक जुद्ध ढाक्रे बताउँछन् ।

उनले भने –‘पार्टीको केन्द्रीय तहमा रहनुका नाताले हामीले पार्टीलाई थप क्षति हुनबाट रोक्नलाई कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवजीको ध्यानाकर्षण गराएका हौं ।

ध्यानाकर्षण पत्रमा भनिएको छ –शीर्ष नेतृत्वकै नेतृत्वमा पार्टीविरुद्ध थालिएको यस्ता अराजक गतिविधिले पार्टी कार्यकर्ताहरुमा व्यापक भ्रम र निराशा सिर्जना गराएको छ र संगठनमा क्षति पुर्याउने काम भएको छ ।

ध्यानाकर्षण पत्रमा पार्टी विरोधी गतिविधि अविलम्ब रोक्न र यस्ता कार्यमा संलग्नमाथि पार्टी विधान बमोजिम कारबाही प्रकृया अघि बढाउन माग गरिएको छ ।

भट्टराई पक्षले हस्ताक्षर अभियान तिव्र पारेको बारे पार्टीभित्र व्यापक चर्चा चले पनि सार्वजनिक रूपमा त्यस बारेमा यस अघि जसपाका कुनै पनि तहका नेता कार्यकर्ताले बोलेका थिएनन् ।

पछिल्लो घटनाक्रमले जसपाभित्रको आन्तरिक किचलो कुनै पनि बेला सतहमा आउने संकेत गरेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु