१२ असार, दमक ।

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आइतबार पदबाट राजीनामा दिएकी छन् ।
अइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर झाक्रीले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी उनले पार्टीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि राजीनामा दिएकी हुन् ।
राजीनामा घोषणाका क्रममा भावुक मुद्रामा देखिएकी झाक्रीले भनिन् –‘पार्टीले मन्त्रीका लागि विश्वास गरेर जिम्मेवारी दिएकोप्रति धन्यवाद दिन चाहन्छु । मन्त्रालय समग्र टिमलाई धन्यवाद दिन चाहन्छु’ ।’
आँखाभरी आँशु पारेर पत्रकारहरुको जवाफ दिँदै उनले भनिन् –‘अलिक रिस उठ्ने प्रश्न गर्नुस् न ।’
झाक्रीसँगै नेकाप एसका अर्का बहुचर्चित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पनि आइतबार नै राजीनामा दिए ।
आलेले पनि आइतबार साँझ नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर पदबाट राजीनामा दिएका हुन् ।
करिब नौ महिना मन्त्री भएका झाक्री र आलेले यसअघि आजै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएका थिए ।
नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ ।
नेकपा एसका दुवै मन्त्रीले राष्ट्रिय सभामा मन्त्रीको हैसियतले बजेट र मन्त्रालयबाट भए गरिएको काम बारे जवाफ दिएलगत्तै राजीनामा दिने बताउँदै आएका थिए ।
मन्त्री आलेले आफूले राम्रो काम गरेको पनि बताए । उनले भने –‘मैले काम गर्दै जाँदा एक्सन मन्त्रीको उपमा पाएँ । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

