adv

निर्वाचनको प्रस्तावित मिति कात्तिक ३०

१९ असार, दमक ।

निर्वाचन आयोजनको कार्यालय ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि कात्तिक ३० गतेको मिति प्रस्ताव गर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ ।

कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न सरकारलाई प्रस्ताव गर्ने तयारीमा आयोग पुगेको हो ।

निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार ढिलोमा बुधबारसम्म आयोगले सरकारलाई औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित पत्राचार गर्नेछ ।

निर्वाचनको प्रक्रिया सहज बनाउन दशैंविदा सकिए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया सुरु गर्ने योजनामा आयोग छ । आगामी असोज १० देखि २३ गतेसम्म दशैंविदा पर्छ ।

कात्तिकको अन्तिम साताभित्रै निर्वाचन नसकिए हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षमा आयोग पुगेको स्रोत बताउँछ ।

यसअघि निर्वाचन गराउने विषयमा आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको थियो । देशैभर एकै चरणमा निर्वाचन सक्नुपर्ने विषयमा आयोग र सुरक्षा निकायबीच छलफल भएको बताइन्छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संविधानतः निर्वाचनको मिति मतदान हुने दिन भन्दा १२० दिन (चार महिना) अघि नै घोषणा गर्नुपर्ने बताउँछन् । प्रवक्ता पौडेलले भने –‘अहिले त दुई तहको निर्वाचन गर्नुपर्ने भएकाले कम्तीमा चार महिना आवश्यक पर्ने देखिन्छ ।’

केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यलाई आयोगले हाल जारी राखेको छ ।

हाल देशभर दैनिक २५ हजारको हाराहारीमा नामावली संकलन भइरहेकाले असारभर करिव ७ लाख जति नयाँ मतदाता थपिने अनुमान गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले मतदान कार्यलाई सहज बनाउन मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ । कतिपय ठाँउमा मतदाताहरु टाढा हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम भइरहेको आयोगले दावी गरेको छ ।

मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु