२० असार, माङसेबुङ ।
इलामको माङसेबुङ ५ स्थित भालुटार बजार परिसरमा प्रथम किरात राजा हाङ यलम्बरको शालिक निर्माण अन्तिम चरणमा पुगेको छ ।
हाङ यलम्बरको शालिक निर्माण कार्यले किरात कालको शासकीय इतिहास संरक्षण र बुधबारे हाटको नामले समेत परिचित भालुटार बजारको सौन्दर्य वृद्धिमा सहयोग पुग्ने बताइएको छ ।
प्रथम किरात राजा यलम्बरको शालिक निर्माणले पूर्णता पाएसँगै माङसेबुङ ५ को भालुटार बजार स्थानीयका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।
२०७२ साल फागुन २० गतेबाट मतमदिरा, जुवातास, मासुमंश निषेधित क्षेत्र घोषणा गरिएको धार्मिक एवम् शाकाहारी क्षेत्रमा पर्ने यो बजार र आसपास २०७२ चैत्र ११ गतेदेखि त्यस्ता कुनै पनि कार्य गर्न पाइँदैन । त्यसैले स्थानीयका लागि किनमेल गर्न सहज यो बजार माङसेबुङको शुद्ध र शाकाहारी बजार हो ।
माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को १० लाख रूपैयाँ र माङसेबुङ वडा नम्बर ५ वडा कार्यालयको आर्थिक वर्ष २०७८/७९ को सिलिङ बजेटबाट ३ लाख गरी कुल १३ लाखको लागतमा निर्माण थालिएको शालिकको कार्य अन्तिम चरणमा पुगेको यलम्बर शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणका कारण पटक पटक लकडाउन हुँदा निर्माण कार्यमा ढिलाइ भए पनि हाल शालिक निर्माण कार्य सकिएको र उपयुक्त समय जुराएर वर्तमान किरात धर्मगुरू आत्मनन्द लिङदेनबाट शालिक अनावरण कार्य सम्पन्न गरिने अध्यक्ष सावदेनको भनाइ छ ।
किरात धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा परिचित माङसेबुङको भालुटार बजारमा यलम्बरको पूर्णकदको शालिक निर्माण कार्यले यहाँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।
समाचारको भिडियो लिंक हर्न यहाँ क्लिक गर्नुहोस् :
https://www.facebook.com/search/top/?q=harpraharnews.com