adv

प्रदेशको नामाकरणका लागि लागि छलफल तीव्र, कोशी, सगरमाथा, किरातको चर्चा

२१ असार, दमक ।

विराटनगरस्थित प्रदेश नम्बर १ को प्रदेश सभा भवन ।

प्रदेश नम्बर १ को नाम टुङ्गो लगाउने विषयमा प्रदेशसभाका ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच छलफल तीव्र बनेको छ । ‘कोशी’, ‘सगरमाथा’, ‘किरात’ जस्ता प्रस्तावित नाममा ठूला दलका नेताबीच व्यापक छलफल चलिरहेको भए पनि ठोस सहमति भइनसकेको सम्बद्ध पार्टीका नेताहरुको भनाइ छ ।

प्रदेशसभा सचिवालयमा सोमबार भएको छलफलमा एमालेले औपचारिक रूपमा ‘कोशी’ प्रदेशमा सहमति जनाउन कांग्रेसलाई प्रस्ताव गर्यो । तर, कांग्रेसले भने सत्ता गठबन्धनका अन्य दलहरु कोशी प्रदेशमा सहमत नहुने भन्दै विकल्प खोज्न एमालेलाई सुझाव दिएको हो ।

ठूला दल एमाले र कांग्रेसबीच सहमतिमा नामाकरणको विषय टुङ्गो नलागे प्रक्रियाबाटै निर्णयमा पुग्न भने सहमत भएका छन् ।

सोमबारको छलफलपछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राई भन्छन् –‘आजको बैठकले प्रक्रियामा लगेर भएपनि नामको विषय टुंग्याउनु पर्छ भन्ने सहमति भएको छ । प्रदेशसभा छिटो बोलाउन सभामुख र मुख्यमन्त्रीलाई आग्रह गरिने पनि निर्णय भएको छ ।’

बैठकमा एमालेबाट संसदीय दलका नेता भीमप्रसाद आचार्य, संसदीय दलका उपनेता यशोदा अधिकारी, पूर्वमन्त्री जीवन घिमिरे, राजकुमार ओझा र जगदिश प्रसाद कुसियत सहभागी थिए । त्यस्तै कांग्रेसका तर्फबाट संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, प्रदेश सभा सदस्यहरु लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई सहभागी थिए ।

कांग्रेस सचेतक राई भन्छन् –‘कोशी, सगरमाथा वा किरात जे भए पनि नामको विषयमा खुल्ला रहने र छलफल गर्न सहमत भएका छौं ।’
एमाले नेता हिक्मतकुमार कार्कीले भने छलफलमा दुवै दलका नेतालाई नामाकरणको विषय छिटो टुङ्ग्याउन दवाव दिइएको बताउँछन् । कार्कीले भने –‘हामीले नामको विषय प्रक्रियामा लगेरै भए पनि टुङ्गयाउन दवाव दिएका छौं । दुवै दलका समितिहरुबाट सुझाव पेश गरिएको छ ।’

एमालेले नामाकरण बारे कार्कीको नेतृत्वमा जीवन घिमिरे, उषाकला राई, राजकुमार ओझा र जगदिशप्रसाद कुसियैत रहेको समिति निर्माण गरेको छ ।

कांग्रेस यसअघि नै प्रदेशको नामाकरण बारे संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा समिति गठन गरेको छ । यद्यपि नामको विषयमा निर्णय गर्ने अधिकार कोइरालालाई नै रहेको कांग्रेसको भनाइ छ ।

सोमबारको छलफलमा दुवै ठूला दलबीच अन्य दलहरु एकीकृत माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतसँग छलफल अगाडि बढाउने निर्णण भएको छ ।

प्रदेश सरकारका तर्फबाट नामाकरण बारे वार्ता तथा छलफल गर्न गठित समितिका संयोजक स्वास्थ्यमन्त्री जयराम यादवले २४ गतेका लागि सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

मन्त्री यादवका अनुसार असार २४ गते सर्वदलीय बैठक डाक्ने गरी गृहकार्य चलिरहेको छ । उनी भन्छन् –‘हामी गठबन्धन दलबीच २४ गतेलाई बैठक राखौं भन्ने अनौपचारिक छलफल भएको छ, प्रतिपक्षी दलसँग आवश्यक परामर्श गरेर सर्वदलीय बैठक राख्नेछौं ।’

प्रदेश नम्बर १ को प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३८, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना गरी ८९ जना सदस्य छन् ।

हाल प्रदेश सभामा कुनै पनि दलको दुईतिहाई बहुमत पुग्ने देखिँदैन । सत्ता गठबन्धन दलहरु एकातिर वा प्रतिपक्षी दल एमाले एक्लै अर्कोतिर उभिँदा पनि प्रदेश नामाकरणको विषयले ठोस आकार नलिने देखिन्छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरणको लागि कम्तिमा प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्छ ।

नाम पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेश–शेर्पालुङ प्रदेश’ राख्न जनता समाजवादी पार्टीले यसअघि नै प्रस्ताव गरेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु