२१ असार, दमक ।

सरकारले संसद्मा करिब ४ वर्षअघि दर्ता भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा दर्ता रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधेयक करिब ४ वर्षपछि फिर्ता लिने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
विधेयकउपर प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफल भई २०७७ असार ९ गते प्रतिनिधि सभामा प्रतिवदेनसहित पेश भएको थियो ।
स्रोतका अनुसार नागरिकता विधेयकमा रहेका बिबादित विषय हटाएर पुनः प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी छ ।
समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर ७ वर्षसम्म स्थायी वसोवास गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेस केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गर्दै आएका छन् ।
संसद्मा पेश भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ ।

