२१ असार, दमक ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने विषयमा बोली फेरेको छ ।
यसअघि कात्तिक ३० गतेको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको निर्वाचन आयोगले २ दिनपछि बोली फेरेको हो ।
आइतबार आयोगले सरकारलाई कात्तिक ३० का लागि मिति प्रस्ताव गर्ने तयारी रहेको बताएको थियो । तर मंगलबार भने मंसिर २ अथवा ५ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारीमा आयोग पुगेको हो ।
आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारी भएको छ ।
निर्वाचन मिति बारे मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुझाव दिने आयोगको तयारी थियो । तर मन्त्रिपरिषद् बैठकलगायत कार्यव्यस्तताका कारण प्रधानमन्त्री देउवाको समय नमिलपछि आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन नसकेको स्रोतको भनाइ छ ।
आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीसँग यसबारे छलफल हुनेछ ।

