३० असार, काठमाडौं ।

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि भोलि शुक्रबार हुने चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईबीच उपसभामुख पदको लागि प्रतिस्पर्धा हुने भएको हो ।
कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन् ।
त्यस्तै भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमाले सांसद हुन् । उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् ।
भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार थिइन् । २०७४ चैतमा भएको चुनावमा भुसाल एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।
उम्मेदवारी दर्तापछि भुसालले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताएकी छन् ।
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उम्मेद्वार भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताएकी छन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि संसद् उपसभामुखविहीन छ ।
सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक प्रावधान छ ।
संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ ।
प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र गरी ४ जना सांसद छन् ।

