adv

दमकको बजेट पारित नभएको विषयमा एमालेले गर्यो पत्रकार सम्मेलन

३० असार, दमक ।

बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दमक नगरपालिकाका निवर्तमान नगर प्रमुख रोमनाथ ओली ।

दमक नगरपालिकाको बजेट तथा कार्यक्रम पारित गर्न सकस परेको छ । असार १० गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भए पनि पारित हुन सकेको छैन ।

दमकमा बजेट, नीति तथा कार्यक्रममा आफ्ना प्रस्ताव र सुझाव समावेश नगरेको आरोप लगाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले समर्थन नगरेपछि दमकको बजेट अलपत्र परेको हो ।

सत्ता गठबन्धनतर्फबाट राप्रपाका रामकुमार थापा नगर प्रमुख निर्वाचित हुन् भने गठबन्धन दलबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्राई निर्वाचित भएकी हुन् । प्रमुख र उपप्रमुखसहित गठबन्धनका तीन जना वडा अध्यक्ष र अन्य वडा सदस्यगरी १३ जना मात्रै नगर सभा सदस्य छन् । तर, एमाले एक्लैसँग ७ वडा अध्यक्षसहित दुईतिहाई बढी सदस्य छ । आफूहरुको बहुमत रहँदा पनि दिइएको सुझाव र राखिएका प्रस्तावलाई नगर प्रमुख थापाले बेवास्ता गरेको एमाले आरोप छ ।

बजेट, नीति तथा कार्यक्रममा एमालेका जनप्रतिनिधिले उठाएका माग सम्बोधन गर्न प्रमुख थापाले अनकाकानी गरेको भन्दै एमालेले असार २० गते यता असहयोग सुरु गरेको छ ।

आफ्ना मागहरु जनहितमा रहेकाले तिनलाई बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने एमालेको माग छ ।
बिहीबार पत्रकार मञ्च, दमकको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर एमालेले नगर सभामा आफूले राखेका विभिन्न माग बारे प्रष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य एवम् निवर्तमान दमक नगरपालिकाका प्रमुख रोम ओलीले नगर सभामा जनप्रतिनिधिहरुलाई बोल्नसमेत नदिने निरंकुश शैलीका कारण समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।

ओलीले भने –‘सभासदहरुले आफ्ना कुरा राख्न नपाउने भन्ने हुँदैन । हिजो कार्यपालिका वोर्डमा जम्मा दुई जना विपक्षी हुनुहुन्थ्यो । कयौं समावलमा बैठक भन्दा अघि उहाँहरुसँग छलफल गथ्र्यौं, परामर्श लिन्थ्यौं । आज १५ जना एकातिर ५ जा अर्कातिर हुनुहुन्छ तर छलफल नै छैन । यो चल्ने तरिकासँग हाम्रो बिमति छ ।’

गठबन्धनमा प्रमुखले गरेको निर्णय नगरपालिका बोर्डमा लागू हुन नसक्ने ओलीको भनाइ छ । गठबन्धनले जबरजस्ती आफ्नो कुरा लगू गराउन खोज्दा द्वन्द्व भएको उनको आरोप छ ।

बजेट, नीति तथा कार्यक्रममार्फत प्रमुख, उपप्रमुखले एकलौटी योजना पारित गराउन खोजेको भन्दै असार २० गते यता एमालेले सभा अवरुद्ध पार्दै आएको छ । असार २७ गते सुझावसहित बजेट, निती तथा कार्यक्रम संसोधन गर्दै पास गर्ने तयारी रहे पनि त्यस्तो हुन सकेन ।

नगर सभाको तेस्रो बैठक असार २९ गते डाकिएकोमा प्रतिपक्षी एमालेका नगर सभासदहरु सहभागी त भए तर बैठक पुस्तिकामा हस्ताक्षर नै नगरेपछि बैठक अघि बढ्नै सकेन । नगर प्रमुख थापाले अर्को बैठक साउन ३ गतेका लागि तोकेर बैठक स्थगित गरे ।

नगर सभामा प्रमुखले सभाका सदस्यहरुलाई बोल्नका लागि पर्याप्त समय पनि नदिएर निरंकुश शैली अपनाएको एमालेका जनप्रतिनिधिको आरोप छ । एमालेबाट नगर कार्यपालिका सदस्य बनेकी शारदा सापकोटाले भनिन –‘सभासदस्यलाई बोल्नै नदिने, बोल्दा बोल्दै माईक बन्द गरिदिने, आफ्ना कार्यकर्तालाई काम लगाए जस्तो हेपाहा बोली र ब्यहावर गर्ने ? यसरी पनि सरकार चल्छ ?’

कार्यपालिकाको बैठकमा एउटा सहमति गर्ने तर नगर सभामा त्यसको ठीक विपरित विषयलाई प्रस्तावका रूपमा प्रवेश गराउने काम प्रमुखबाट भएको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आरोप छ । आफूहरुका सुझाव र प्रस्ताव समावेश नगरिए साउन ३ गतेका लागि डाकिएको नगर सभाको चौथो बैठक पनि अरोध गर्ने एमालेले पत्रकार सम्मेलनबाट चेतावनी दिएको छ ।

एमालेबाट निर्वाचित दमक नगर सभा सदस्यतर्फका संयोजक लोकबहादुर धिमालले भने –‘बजेट, निति तथा कार्यक्रम परिमार्जन गर्नलाई हामीसँग छलफल भएन भने साउन ३ गते पनि हामी सभा अवरोध गर्छौं ।’

एमालेका तर्फबाट आफूहरुले दमकको विकास र हितसँग जोडिएका केही प्रस्तावलाई विशेष प्रस्तावका रूपमा पेश गरिएको संयोजक धिमालको भनाइ छ ।

एमालेका तर्फबाट ११ औं नगर सभामा बजेट, नीति तथ कार्यक्रमको पूरक प्रस्तावका रूपमा विभिन्न २७ वटा वुँदा समावेश गरिएको थियो ।

बिहीबारको पत्रकार सम्मेलनमा संयोजक धिमालले विषेश प्रस्तावका रूपमा सवारी साधनमा लाग्ने पूर्वाधार सेवा शुल्क (पटके कर भनिएको) खारेजीको व्यवस्था गरिनुपर्ने, नगरपालिकामा लामो समय देखि कार्यरत करारका कर्मचारीलाई यथावत स्थानमा रहने गरी २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्म म्याद थप गर्नुपर्ने, हालसम्म व्यवस्साय दर्ता प्रकृयामा नआएको व्यवसायी आर्थिक वर्षकोे पौष मसान्त भित्र दर्ता प्रकृयामा आई विना जरिवाना दर्ता गरिनु पर्ने र सो पश्चात आए जरिवाना सहित व्यवसाय दर्ता गरिनुपर्ने, लामो समयदेखि कर नतिरी बसेका व्यवसायहरुलाई अन्तिम तीन आवको कर असुली कर जरिवाना मिनाहा गरी व्यवसाय नविकरण वा बन्द गर्ने व्यवस्था गरिनुपर्ने लगायत ९ वटा बुँदा प्रस्तुत गरेका छन् ।

पत्रकार सम्मेलनमा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु र कार्यपालिका सदस्य र वडा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु