कमन देवान र जगत देवान (पाँचखपन)

संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ३ सिभुवाका जनताले खानेपानीको दुःखबाट पहिलो पटक पार पाएका छन् । घरघरमै खानेपानीको धारा बनेपछि यहाँका वासिन्दालाई पँधेरा र कुवाबाट पानी बोक्नु पर्ने समस्या त टरेको छ नै । ब्रिटिस गोर्खा वेल्फेर ट्रस्टको सहयोगमा २ करोड १९ लाख लागतमा दिगो खानीपानी परियोजना सञ्चालनमा आएपछि उनीहरुको दैनिकी समेत फेरिएको छ ।
करिब दुई दशक लामो लाहुरे जीवन अन्त्य गरेर सिंगापुरबाट गाउँ आएपछि पनि पानीको उस्तै समस्या देख्दा भित्रभित्रै जल्ने गर्थे वडा अध्यक्ष शुक्रराज राई । गत स्थानीय तह निर्वाचन र यस पटकको स्थानीय तह निर्वाचन गरी उनी दुई पटक यस वडाको वडा अध्यक्ष निर्वाचित भएका छन् । अहिले उनको परिचय बदलिएको छ –लाहुरेदेखि वडा अध्यक्ष ।
हुन त गाउँमा उनी भन्दा अघि पनि गाउँका केही थान लाहुरे नभएका भने होइनन् तर उनीहरु गाउँमा खासै बसेनन् । सुख सुविधा खोज्दै सरदमुकाम र सहरतिर पसे । गाउँलाई पानी खुवाउने कुरा सोच्ने त उनै राई मात्रै हुन् । शुक्रराजलाई पनि सुरुका दिनमा प्रस्तावना पेश गरेपछि निरन्तर फलोअप गर्नुपर्छ भन्ने थाहै थिएन । तर बिस्तारै सहयोगी संस्थासँग कसरी काम गर्नुपर्छ भन्ने कुरा जाने ।
उनी भन्छन् –‘गाउँलेका लागि खानेपानी खुवाउने सपना पूरा भएको छ ।’
हो, यसै वडाको २ सय ६० घरधुरीलाई घरघरमा धारा सुविधा पुर्याउने उनै शुक्रराजको अठोटले आज साकार रूप लिएको छ । पानीको समस्या सुल्झाउन उनले ८ वर्ष अघि चालेको कदम आज आएर साकार भएको छ । भूत पूर्व लाहुरे हुनुका कारण उनले ब्रिटिस गोर्खा वेल्फेर ट्रस्ट खाँदबारीमा खानेपानी परियोजनाका लागि प्रस्ताव पेश गरे ।
आखिर जानीनजानी उनले थालेको खानेपानी परियोजनाको सपना हालसालै पूरा भएको छ । वडाकै छरछरे मुहानबाट पानी ल्याएर घरघरमा शुद्ध पिउने पानी वितरण भएको छ । पानी विरतणका लागि वेल्फेर ट्रष्टले लाखौं रकम खर्च गरेको छ । परियोजनामा स्थानीयको पनि श्रमदान जोडिएको छ ।
विरतण प्रणालीलाई व्यवस्थित गर्न मुहान ओभरफ्लो व्यवस्थापन, मुख्य रिजर्भ ट्यांकीलगायत अन्य भौतिक निर्माण कार्यलाई अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको छ । घरआँगनमै पानीको धारा देख्ने सपना बोकेर बाँचेका यस गाउँका मानिसका लागि त्यो सपना विपनामा परिणत भएको छ ।
‘खानेपानी परियोजना निर्माण र वितरणपछि यहाँका जनताले अहिले राम्रो सुविधा पाएका छन्’, वडा अध्यक्ष राई खुशी व्यक्त गर्छन् ।
गत असार १२ गते पाँचखपन नगरपालिकाका प्रमुख बिपिन राईको हातबाट खानेपानी परियोजना उद्घाटनसँगै गाउँलेले घरघरमै धारा र धारामा पानी पाएपछि वडा अध्यक्ष राईको जाँगर अरु बढेको छ । सिभुवा जस्तै वडाका अन्य गाउँहरुमा पनि खानेपानी परियोजना सञ्चालनका लागि उनले वेल्फेरसँग सहकार्यको हात बढाइसकेका छन् ।
राई उत्साहित हुँदै भन्छन् –‘मैले फच्याङ र नागीमा सर्भे गरिसकेँ, माकसुवा, साउने, भाङटारको लागि पनि मुहान खोजतलास जारी छ ।’
दोस्रो पटक पनि पाँचखपन ३ को वडा अध्यक्षमा राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित राईले पहिलो पटक २०७४ मा वडा अध्यक्ष हुनु भन्दा अघि देखि नै खानेपानी परियोजनाका लागि पहल गरिरहेका थिए । संयोगले उनी वडा अध्यक्ष पनि भए ।
विकास निर्माणका अन्य थुप्रै काम गर्नुपर्ने ठाउँमा पुगे । गरे, सिके र सिक्दै गरे । त्यहि सिकाईको एउटा मूर्त रूप बन्न पुग्यो यो परियोजना । खानेपानी परियोजनाले वडावासीको मुहार उजेलिएसँगै गाउँका लागि केही गरेँ भन्ने आभास हुन थालेको राईको भनाइ छ ।