adv

भट्टराईले पार्टी फुटाउन खोजे त्यसैले कारबाही गर्यौं : अध्यक्ष यादव

३१ असार, दमक ।


पार्टी फुटाउने षड्यन्त्रमा लागेका कारण संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् ।

असार २९ र ३० गते विरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय बैठकपछि शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेता भट्टराई माथि यस्तो आरोप लगाएका हुन् ।

जसपा बैठकले संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित केन्द्रीय कार्यकारिणी समितिमा रहेका अन्य ८ जना नेताहरुलाई समेत बिहीबार कारबाही गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी हित विपरीत काम गरेको पाइएकोले भट्टराई लगायत नेताहरुलाई कारबाही गरिएको जिकिर गरेका हुन् ।

यादवले भने –‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो । त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो ।’

भट्टराईलाई साधारण सदस्यबाट पनि हटाइएको हो त ? भन्ने पत्रकारको प्रश्नमा यादवले भने – ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ । एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन !’

नेता भट्टराईलाई जसपाको जिम्मेवारीबाट मुक्त गरिएपछि रिक्त रहेको संघीय परिषद् अध्यक्ष पवमा वरिष्ठ नेता अशोक राई मनोनिजत भएका छन् ।

यसअघि पटक पटक कार्यकारिणी समितिको विभिन्न बैठकहरुमा भट्टराईले वरिष्ठ नेता राईलाई रिक्त रहेको अध्यक्ष पदमा बढुवा गर्नुपर्ने अडान लिएका थिए । अघिल्लो केन्द्रीय समिति बैठकमा समेत भट्टराई पक्षले अध्यक्ष यादवले एकलौटी पार्टी चलाएको आरोप लगाएको थियो ।

सो बैठकले शीर्ष तीन नेताको संयुक्त निर्णयबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरु गरिने भन्दै तीन जनाको पार्टी मुख्यालय गठन गरेको थियो ।
तर, परिणाम भट्टराईले सोचे भन्दा ठीक विपरित निस्किएको छ । राईले अन्तिममा भट्टराईको पार्टी विभाजन गर्ने निचोडलाई साथ दिएनन् । जसपाबाट भट्टराई पक्ष आउट भयो भने उनी गएसँगै रिक्त संघीय परिषद् अध्यक्ष पदमा राईको आगमन भएको छ ।

विरगञ्ज बैठकबाट रिक्त अर्को अध्यक्ष पद भने जसपाले खारेज गरेको छ । त्यस्तै बैठकले आगामी प्रदेश र संघीय निर्वाचनको तयारी गर्ने, केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउनेलगायत विषयमा निर्णय गरेको बताइएको छ ।

उता भट्टराई पक्षले भने असार २८ र २९ ते राजधानीको जडीबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेर अलग बाटो तय गर्ने निर्णय गरिसकेको छ ।

भट्टराईलाई हालसालै मन्त्रीबाट पदमुक्त गरिएका महिन्द्र राय यादवले साथ दिएका छन् ।

भट्टराई पक्षको भेलाले भने यादव समूह समावेशीताको कुरा गरे पनि एकल नेतृत्वबाट माथि उठ्न नसकेको र मधेस क्षेत्रीयवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएको थियो ।

त्यस्तै मन्त्रीबाट फिर्ता बोलाइएकी रेणु यादवले पनि जसपाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने भन्दै राजीनामा दिएकी छिन् ।
अध्यक्ष यादवले मन्त्री पदबाट हटाएको प्रतिशोधका लागि रेणु बाबुरामले गठन गर्ने भनिएको समावेशी लोकतान्त्रिक पार्टीमा जान सक्ने सम्भावना उत्तिकै रहेको समारचार स्रोतको दावी छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु