adv

उपेन्द्र यादव स्वेच्छाचारी भएको भट्टराईको आरोप : कारबाही खारेज गरेको उद्घोष

३१ असार, दमक ।


जनता समाजवादी पार्टी (जसपा)बाट पदमुक्त गरिएका डा. बाबुराम भट्टराईले उपेन्द्र यादवलाई स्वेच्छाचारीको आरोप लगाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै जसपाको संघीय परिषद् अध्यक्षबाट बिहीबार मात्रै पदमुक्त भएका भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले आफूहरुमाथि गरेको भनिएको कारबाही खारेज गर्ने चेतावनीसमेत दिएका छन् ।

आफ्नो अध्यक्षतामा राजधानीको जडिबुटीमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक पार्टी रूपान्तरणका प्रयत्न गर्नका लागि भएको दावी गर्दै भट्टराईले विरगञ्जमा यादवको अध्यक्षतामा बसेको जसपाको बैठकलाई अवैधानिक, अराजनीतिक र अनैतिक भनेका छन् ।

संघीय परिषद् अध्यक्षबाट आफूलाई पदमुक्त गर्ने र आफू पक्षधर केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गर्ने जसपा बैठकको निर्णयको भत्र्सना गर्ने र कारबाहीको निर्णय खारेज गर्ने भट्टराईको जिकिर छ ।

अध्यक्ष यादवको स्वेच्छाचारी कार्यशैलीविरुद्धको वहस उत्कर्षमा पुगेको र पार्टीभित्र केन्द्रीय समितिको अलग–अलग बैठक गर्ने तहसम्म पुगेको विज्ञप्तिमा उल्लेख छ ।

भट्टराई पक्षधरले केन्द्रीय समितिको विस्तारित बैठकका नाउँमा असार २८ र २९ गते राजधानीको जुडबुटीमा भेला गरेका थिए ।

भट्टाराई पक्षको भेलामा सहभागी नेताहरु ।

यादवको अध्यक्षतामा विरगञ्जमा असार २९ र ३० गतेको बसेको जसपा केन्द्रीय समिति बैठकले अध्यक्षले प्रयोग गर्ने अधिकार प्रयोग गरी बैठक बोलाउने काम गरेको, नयाँ पार्टी खोल्ने निर्णय गरेको आरोपसहित संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतलाई कारबाही गरेको थियो ।

उनीसहित कार्यकारिणी समिति सदस्यहरु हिसिला यमी, महिन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, दुर्गा सोव, प्रशान्त सिंह, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई विरगञ्ज बैठकले पदमुक्त गरेको थियो ।

भट्टराईबाट जारी विज्ञप्तिमा भनिएको छ –‘हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।’

पार्टी शक्ति र गणितमा उपेन्द्र नै माथि

विरगञ्जमा सम्पन्न गसपाको केन्द्रीय समिति बैठक ।

विरगञ्जमा आयोजित जसपा केन्द्रीय समिति बैठकमा ३ सय ७ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको जसपा केन्द्रीय कार्यालय बालकुमारीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार भट्टराई पक्षले डाकेको जडिबटीको विस्तारित बैठकमा २ सय बढी केन्द्रीय सदस्य उपस्थित भएको हवला दिइए पनि ७० जनाको मात्र उपस्थिति रहेको थियो ।

निर्वाचन आयोगमा अध्यावधि गरिएका ४ स सय ९९ जना केन्द्रीय सदस्यमध्ये स्थानिय तह निर्वाचनमा टिकट नपाएर पार्टी परिवर्तन गरेका र अन्य विभिन्न कारणले गरी १ सय २२ जना भने दुवै बैठकमा उपस्थित भएनन् ।

जसपाका ३४ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये यादवको पक्षमा २० जना रहेका खुलेको छ ।

पार्टी पुनर्गठनको लागि भन्दै डाकिएको भट्टराई पक्षधरको भेलामा ७ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्य सहभागी थिए ।

दुवैतिरको बैठक र भेलामा ५ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु अनुपस्थित रहेका थिए भने यसअघि प्रदेश नम्बर १ मा प्रदेश प्रमुख नियुक्त भएका परशुराम खापुङ र साउदी अरबको राजदूत नियुक्त भएकाले नवराज सुवेदीले केन्द्रीय कार्यकारिणी समितिबाट राजीनामा दिइसकेका छन् ।

जसपाको २० जना संघीय सांसद रहेकोमा यादव पक्षमा उनीसहित १६ र भट्टराई पक्षमा उनीसहति ३ जना छन् ।

समानुपातिक सांसद रहेकी रेणु यादव हालै मन्त्रीबाट पदमुक्त गरिएपछि राजीनामा दिएर बकेकी छन् । उनी कता लाग्ने वा उनको सांसद् पद रहने नरहने बारे हालसम्म स्पष्ट भएको छैन ।

वीरगन्ज बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरु :
१. उपेन्द्र यादव
२. अशोक राई
३. राजेन्द्र श्रेष्ठ
४. रकम चेम्जोङ
५. मृगेन्द्रसिंह यादव
६. गोविन्द चौधरी
७. रामसहाय प्रसाद यादव
८. लालबाबु राउत
९. रणध्वज कन्दङवा
१०. सुशीला श्रेष्ठ
११. नवलकिशोर साह
१२. परशुराम बस्नेत
१३. मनिष सुमन
१४. विजय यादव
१५. मोहम्मद इस्तियाक राई
१६. प्रकाश अधिकारी
१७. गजाधर यादव
१८. रेणु यादव
१९. युवराज कार्की
२०. शिवलाल थापा

जडिबुटी बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरु :
१. डा. बाबुराम भट्टराई
२. हिसिला यमी
३. महिन्द्र राय यादव
४. गंगानारायण श्रेष्ठ
५. डम्बर खतिवडा
६. प्रशान्त सिंह
७. रमेश यादव

कतै भाग नलिएका कार्यकारिणी सदस्यहरु :
१. हेमराज राई
२. भक्तबहादुर साह
३. दुर्गा सोव
४. राजकिशोर यादव
५. अमृता अग्रहरी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु