बिर्तामोड, ३२असार ।

नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना आफ्ना सदस्यहरुलाई सम्मानसहित बिदाइ गरेको छ ।
शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच जनप्रतिनिधिमा निर्वाचित पत्रकारहरुलाई सम्मानसहित बिदाइ गरिएको हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा पत्रकार महासंघ झापाको कार्यसमिति सदस्यसमेत रहेका अनिल वाग्लेसहित साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला पहिर्याएर सम्मान र बिदाइ गरिएको थियो ।
वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।
जनप्रतिनिधिको रूपमा निर्वाचित भएकोमा बधाइ र कार्यकाय सफलताको शुभकामनासहित उनीहरुलाई सक्रिय पत्रकारिताबाट बिदाइ गरिएको महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पूर्व पत्रकार जनप्रतिनिधिहरुले सञ्चारमैत्री पालिका र वडा बनाउँदै महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
भट्टराईले स्वागत गरेको कार्यक्रमको अध्यक्षता एकराज गिरी र सञ्चालन डिकेश लामाले गरेका थिए ।
