adv

साउन १५ बाट प्रदेश नामाकरण प्रक्रिया सुरु हुन्छ : मुख्यमन्त्री राई

२ साउन, बिराटनगर ।


प्रदेश नम्बर १ को नामाकरण प्रक्रिया साउन १५ गतेबाट हुने भएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका हुन् ।

साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु हुने र त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको मुख्यमन्त्री राईको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरण बारे खुलासा गरेका हुन् ।

नामाकण प्रक्रिया चलिरहेको बेलामा हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन आग्रह गर्दै उनले भने –‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला ।’

प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै राईले सरकारले यसमा सहजीकरण मात्रै गर्ने स्पष्ट पारे ।

बैठकमा मुख्यमन्त्री राईले कोरोना संक्रमण बढेर गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउनेतर्फको रणनीति बनाउनसमेत सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।

किरात प्रदेश नामाकरण गर्न यायोक्खाको धर्ना

किरात राई यायोक्खाले सोमबार आयोजना गरेको मोटर साइकल र्यालीको एक दृश्य ।

यसैबीच प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्न माग राख्दै किरात राई यायोक्खाले सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेको छ ।

प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने बारे तयारी थालेपछि यायोख्खाले किरात प्रदेशको माग राख्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय घेराउ गरेको हो ।

सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्याली इटहरी, दुहबी हुँदै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाएपछि यायोक्खाले प्रदेशसभाको कार्यालयमा पनि केही समय घेराउ गरेको थियो ।

घेराउ कार्यक्रममा १४ जिल्लाबाटै सहभागिता जुटाइएको आयोजकले जानकारी दिएका छन् । पहिचान र सभ्यताको आधारमा प्रदेशको नामाकारण किरात प्रदेश राखिनुपर्ने यायोक्खाको दावी छ ।

किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले सभ्यता र पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण किरात प्रदेश राख्नुपर्ने जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु