३ साउन, दमक ।

(सिमिक्वा चरी) लिम्बू मुन्धुमी मिथकमा आधारित नाटक ‘सिमिक्वा’को समापन गरिएको छ ।
सोमबार दमकस्थित कदम थिएटरमा आयोजित एक कार्यक्रमका बीच नाटक समापन गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ हङकङका पूर्व अध्यक्ष एवम् सामजिक व्यक्तित्व त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा याक्थुङ प्रज्ञा पतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको बिशेष आतिथ्य रहेको थियो ।
असार २७ देखि कदम थिएटरमा मञ्चन भएको नाटक रहेको नाटक ‘सिमिक्वा’ असार ३० सम्म मञ्चन गरिने भनिएकोमा २ दिन समय थप गरि असार ३२ गते सम्म मञ्चन गरिएको थियो ।
बहुभाषिक नाटक उत्सव २०७९ मा काडमाडौं मञ्चन गरिएको नाटक ‘सिमिक्वा’ बिशुद्ध लिम्बू भाषामा नै प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कदम थिएटर सचिव÷पत्रकार कमन देवान, राजनीतिककर्मी कान्छा लाओती, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ लिम्बू भाषाका कर्मचारी सुनिल सेर्मा नोसाङ, निर्देशक वनेम विक्रम फागो लगायतले मन्तव्य राखेका थिए ।
नाटक ‘सिमिक्वा’का कलाकारहरुलाई प्रमाणपत्र र मायाको चिनो साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा लिम्बू भाषाविद सेसेमी सेनाल्बो, संचारकर्मी आन्छुमे नसान, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, याक्थुङ मुन्जइत चोक सयङ १ नं.प्रदेश अध्यक्ष भूपेन्द्र तुम्बाहाङ्फे, कोषाध्यक्ष अनिस लाओती समेतको उपस्थिति रहेको थियो ।
निर्देशकद्वय वनेमविक्रम फागो र चेतन आङथुपोले ढुङगे युगको सेटिङमा आमा–छोरीको प्रेम र वियोगको कथालाई सह्रै मर्मस्पर्शी रुपमा नाटक ‘सिमिक्वा’ मा प्रस्तुत गरेको छ । नाटकमा तङसीङ र येवाको उपस्थिति गराएर मिथक र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ ।
अग्रज पुर्खाहरुको मुखाबाट सधैं सुन्दै आईरहेको लोक कथाहरु मध्ये लिम्बू मिथकमा आधारित सिमिक्वा चरीको कारुणिक बिलौनाको कथालाई प्रस्तुत गरिएको नाटकमा लिम्बू मिथक हाम्लावाको समेत प्रयोग गरेर नाटकमा थप सौन्दर्य थपिएकोले पनि अरु नाटक भन्दा ‘सिमिक्वा’ पृथक बनेको छ ।
छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्ने क्रममा खोलाले बगाएर मृत्यू हुने आमाको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँडेको सिमिक्वा चरीका कारुणिक विलौनाको बोध गराउने हाम्लावको प्रयोगले नाटकको दुखान्त पक्षलाई बलियो बनाएको छ ।
चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा करिव ४५ मिनेटको नाटक ‘सिमिक्वा’को कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।
नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतले अभिनय गरेका छन् ।
नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।



