५ साउन, दमक ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार एसईईको नतिजा साउन १० मा जारी गर्ने तयारी भइरहेको हो ।
एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि तीव्र गतिमा काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् ।
नतिजामा प्राविधिक त्रुटि नहोस् भनेर यतिबेला विद्यार्थीको विवरणहरू रूजु भइरहेको अध्यक्ष शर्माको भनाइ छ । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनले स्पष्ट पारे ।
शिक्षाका कर्मचारी र उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका पनि निर्वाचनमा खटिनु परेकाले उत्तर पुस्तिका परीक्षणमा केही ढिला भएको शर्माको कथन छ ।
नतिजा सार्वजनिक गर्न लक्ष्यभन्दा केही दिन ढिलो भए पनि शैक्षिक सत्रलाई असर नपर्ने नतिजा सार्वजनिक हुने उनको भनाइ छ ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएको थियो भने यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
२ हजार ७ वटा परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ वटा विद्यालयका २ लाख ५७ हजार ९ सय २४ जना छात्रा र २ लाख ५७ हजार ५३ जना छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

