९ साउन, दमक ।
बिरामीलाई आपतकालीन उपचार सेवाका लािग अस्पतालसम्म ल्याउने एम्बुलेन्स नै बिरामी परेपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले यतिबेला एम्बुलेन्स सेवा दिन सकेको छैन ।
मेची प्रादेशिक अस्पतालका २ वटा एम्बुलेन्स सञ्चालित रहेकामा ती दुवै बिग्रिएर थन्किएपछि सेवाग्राही मारमा परेका छन् । सरकारी अस्पतालका दुवै एम्बुलेन्स १ वर्षदेखि बिग्रिएर थन्किए पनि मर्मत र पुनर्सञ्चालनतर्फ कसेको ध्यान गएको छैन ।
नेपाल–भारतमैत्री संघले क्रमशः २०५४ र २०६४ सालमा गरी अस्पतालमा २ थान एम्बुलेन्स उपलब्ध गराएको थियो । तर पहिलो एम्बुलेन्स करिब आठ वर्षअघि बिग्रिएको थियो भने दोस्रो एम्बुलेन्स पनि १ वर्षअघि बिग्रिएर थन्किएको छ । अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दुवै एम्बुलेन्स मर्मत गर्न नसकिने गरी बिग्रिएका हुन् ।
पोखरेलका अनुसार एम्बुलेन्स मर्मत गर्नै नमिल्ने गरी बिग्रिएको हुनाले त्यसै छाडिएको हो ।
तर अचम्मको कुरा के छ भने अस्पतालको एम्बुलेन्स मर्मत नै नहुनेगरी बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतको भनाइ छ ।
नयाँ एम्बुलेन्स व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन वा स्थानीय तह कसैले पनि पहल नगरेको अस्पतालका कर्मचारीहरुको भनाइ छ ।
प्रदेश नम्बर १ सरकारबाट अस्पताललाई १ थान एम्बुलेन्स र १ थान शववाहन उपलब्ध गराउने भनिएको तर सो सुविधा दिने बारे समेत अस्पतालका तर्फबाट कुनै पहल नलिइएको स्रोतको भनाइ छ ।
सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चल अस्पताल मुलुक संघीय संरचनामा गएपछि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएको छ ।