९ साउन, दमक (एजेन्सीको सहयोगमा)

आतंकवादी कार्य गर्न सहयोग गरेको अभियोगमा म्यानमारको सैन्य अधिकारीले त्यहाँस्थित चार जना प्रजातन्त्र अभियान्तालाई मृत्युदण्ड दिएको छ ।
उनीहरुविरुद्ध गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमा मृत्युदण्डको सजाय फैसला गरिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले मृत्यु दण्डबारे समाचार लेखेको छ ।
मृत्युदण्ड दिइएका उनीहरुमाथि गत वर्षको विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनाविरुद्ध लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप थियो ।
असिस्टेन्स एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार सन् १९८० को दशकपछि म्यानमारमा मृत्युदण्डको दिइएको यो पहिलो घटना हो ।
ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाए अनुसार मृत्युदण्ड पाएकाहरुमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने ५३ वर्षीय क्याव मिन यु र पूर्वसांसद तथा हिप–हप कलाकार ४१ वर्षीय फ्यो जेया थाउ छन् । उनीहरु दुवै जनाले गत जुनमा सजायविरुद्धमा अपिल गरे पनि त्यहाँको सैनिक शासनले सुनेको थिएन ।
पूर्वसांसद् जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगीसमेत भएको बिबिसीले लेखेको छ ।
मृत्युदण्ड पाउने अन्य २ जनामा ह्ला म्यो आङ र आङ थुरा जाव छन् ।
चारै जनालाई आतंकवाद विरोधी कानून र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो ।

