९ साउन, दमक ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर १ समितिले प्रदेश नम्बर १ को नामाकरण सम्बन्धमा पार्टीको पुरानै प्रस्ताव ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ यथावत रहेको स्पष्ट पारेको छ ।
यतिबेला प्रदेश नम्बर १ को नामाकरण सम्बन्धमा विभिन्न जातीय संस्था र मोर्चाहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेको समयमा जसपा प्रदेश १ ले विज्ञप्ति जारी गरेर आफ्नो साविककै धारणा अघि सारेको हो ।
प्रदेश सभाको चालु बजेट अधिवेशनका बीच राजनीतिक दलहरु प्रदेशको नामाकरण बारे सहमति गर्ने प्रयासमा छन् तर उनीहरुको सो प्रयास औपचारिक छलफलमै सीमित हुँदै आएको छ । प्रदेश सभाको ठूलो दल एमाले कोशी नामाकरण गर्ने पक्षमा छ भने कांग्रेस सप्तकोशीको पक्षमा छ । नेकपा माओवादी केन्द्रले भर्खरै कोशी–किरात नामको प्रस्ताव पारित गरेको छ । नेकपा (एकीकृत समाजवादी) भने बहुपहिचानको पक्षमा छ तर ऊसँग ठोस प्रस्ताव छैन ।
संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च लिम्बुवान/खम्बुवान (किरात) को पक्षमा छ भने प्रदेश सभामा एक सदस्य रहेको राप्रपाले ठोस प्रस्ताव दर्ज गरेको छैन ।
यतिबेला सडकमा भने –‘किरात प्रदेश’ माग्ने र ‘लिम्बुवान–किरात’ माग्ने समूहले अलग अलग आन्दोलन गरिरहेका छन् । किरात राई योयोक्खा एकल किरात प्रदेशको पक्षमा आन्दोलित छ भने लिम्बुवानजन्य घटकहरु लिम्बुवान–किरातको पक्षमा आन्दोलित छन् । जसपाकै लिम्बुवान राष्ट्रिय समिति पनि ‘लिम्बुवान–किरात’ हुनुपर्छ भन्ने आन्दोलनमा सहभागी छ ।
जसपा प्रदेश १ बाट जारी विज्ञप्तिमा भने प्रदेश १ को भूगोल मिश्रित पहिचानको भएकाले सोही अनुसार नामाकरण गर्नुपर्ने माग गरेको हो । उसले पार्टी सम्बद्ध नेता, कार्यकर्ता र आम जनमानसमा यस्तो अनुरोध गरेको हो ।
राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरुबाट नै राजनीतिक उपलब्धि र जनताका अधिकार प्राप्ति भएको भन्दै जसपा प्रदेश १ ले थप अधिकार प्राप्तिका लागि संगठित र आन्दोलित हुने कार्यभार जसपाकै काँधमा रहेको जिकिर गरेको छ ।
जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ –‘पहिचान, समावेशीता, सुशासन, समृद्धि र समाजवाद प्रप्तिको निम्ति सुरु गरिएको अथक राजनीतिक यात्राबाट कुनै पनि मानेमा विचलित हुने वा पाइला मोड्ने र दलाल पुँजीवादी राज्यसत्ताको कोपभाजनमा फसेर वा कुनै पनि बहानामा तमाम उत्पीडित समुदायको आन्दोलनलाई विसर्जनको बाटोमा लैजाने छुट कसैलाई पनि नरहेको जनता समाजवादी पार्टी, प्रदेश समिति, प्रदेश नम्बर १ हार्दिकताका साथ अपील गर्दछ ।’
जसपाले यसअघि पटक पटकका सर्वदलीय बैठक र छलफलहरुमा ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रस्ताव राख्दै आएको छ ।
प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरीमा बिगतमा सशक्त ढङ्गले उठेको कोचिला आन्दोलनका बारेमा भने प्रदेश सभामा रहेका राजनीतिक दल र आन्दोलनरत समूहहरुले मुख खोलेका छैनन् ।


