११ साउन, दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा विभेद्मा परेका समुदाय र उत्पीडित जातिका समस्या व्यवहारिक रूपमा अन्त्य गर्न सचेत र चेतनशील वर्गहरुले सहयोग गर्नु पर्ने बताएका छन् ।
एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले मुक्ति समाज एमालेको अभिन अङ्ग भएको र समाजको छुवाछुत हटाउन पार्टीले आवाज उठाउने सहकार्य गरेको बताएका हुन् ।
ओलीले दलितले समुदायले हाल प्राप्त आरक्षणलाई सधैँका लागि नभएर एक पटकको लागि अवसरको रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।
उनले दलित समुदायले हरेक प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न सक्रिय हुनु पर्ने सुझावसमेत दिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले समाजमा धेरै समस्याहरु रहे पनि तिनलाई थाँती राख्दै अहिले केही समूह र व्यक्तिले देशलाई ध्वस्त पार्न गठबन्धन गरेर तगारो बनिरहेको भन्दै त्यसलाई तोड्नु पर्ने बताए ।
संघीयता जस्तो नयाँ शासन व्यवस्था प्रयोगमा ल्याएको केही वर्षमै यसको संरक्षण गर्ने भन्दा पनि परमादेशको गठबन्धन सरकारको क्रियाकलापले संघीय शासन प्रणालीको बदनाम गरेको नेता ओलीको आरोप थियो ।
सत्ता गठबन्धनतर्फ लक्षित गर्दै ओलीले भने –‘नेपाली जनतालाई ठग्ने धमिराहरुलाई संघीय र प्रदेशको आउँदो निर्वाचनमार्फत हटाउनु पर्छ ।
बुधबार नै पार्टीको जिल्लातहका जनसंगठनका अध्यक्ष र प्रतिनिधिहरुसँगको भेटघाटमा ओलीले आउदो निर्वाचन, पार्टी संगठन, स्थानिय निर्वाचनलगायतका विषयमा सामूहिक छलफल गरेका एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।
चौतारीलाई देशको स्वाधीनताको पक्षमा लेख्न निर्देशन
बुधबार नै ओलीले एमाले निकट पत्रकारहरको संगठन प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाका पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले मुलुक र स्वाधीनताको पक्षमा पत्रकारले बोल्न लेख्न सक्नु पर्ने जिकिर गरे ।
सामाजिक सद्भावको पक्षमा र राष्ट्रिय अखण्डताको रक्षाको निम्ति जस्तोसुकै अवरोधको प्रवाह नगरी कलम चलाउन ओलीले निर्देशन दिएको चौतारी जिल्ला स्रोतले बताएको छ ।

