adv

एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त

१२ साउन, दमक ।

बिहीबार दमकस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटमा व्यस्त एमाले अध्यक्ष ओली ।

प्रदेश र संघीय संसद निर्वाचनको मिति तोक्ने सरकारी तयारी चलिरहेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र केन्द्रित कार्यकर्ता भेटघाट कार्यक्रममा जुटेका छन् ।

३ दिनका लागि गृहजिल्ला झापा आएका एमाले अध्यक्ष ओली आज बिहीबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का पार्टी नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

बुधबार उनले विर्तामोडमा एमाले निकट जनसंगठनहरुसँग अन्तरक्रिया गरेका थिए ।

बिहीबार बिहान उनले गृहनगर दमकमा पार्टीका सबै तहका नेता कार्यकर्तासँग भेटघाट गरेका छन् । दमक ९ स्थित एमाले पार्टी कार्यालयमा भएको भेटघाटमा ओलीले पार्टी संगठन सुदृढीकरणमा लाग्न र आगामी निर्वाचन केन्द्रित रणनीति बनाउन निर्देशन दिएका हुन् ।

एमाले दमक नगर उपसचिव सन्तोष दुलालका अनुसार अध्यक्ष ओलीलाई भेट्न पार्टीका टोल कमिटीदेखि केन्द्रीय तहका नेतासम्मलाई समय उपलब्ध गराइएको थियो ।

दुलालले भने –‘पार्टी र संगठनको आन्तरिक जीवन, आगामी चुनावी रणनीति जस्ता विषयमा खुला प्रशिक्षण र अन्तरक्रिया भएको हो । टोल कमिटीदेखि उपल्लो कमिटीका नेताहरुको सहभागिता रह्यो ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको आफ्नै गृह नगर दमकमा १० मध्ये ७ वटा वडामा एमालेले विजय हाँसिल गरे पनि नगर प्रमुख र उपप्रमुखमा पराजय भोगेको थियो । एमालेभित्रै यस चुनावी परिणामलाई अन्तरघात भनिए पनि बाहिर भने कसैले मुख खोलेका छैनन् ।

स्थानीय निर्वाचनमा सोचे भन्दा फरक परिणाम आएपछि दमक नटेकेका ओली प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी भैरहेका बेला गृहजिल्ला र गृहनगरका कार्यक्रममा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ ।

एमाले उच्च स्रोतका अनुसार ओली पुनः झापा क्षेत्र नम्बर ५ बाटै प्रत्यक्ष उम्मेद्वार हुने पक्का जस्तै छ । ५ दलीय सत्ता गठबन्धनसहित झापा क्षेत्र नम्बर ५ मा राप्रपासमेत एकातिर लग्ने हो भने एमालेका लागि निर्वाचन जित्न फलामको चिउरा चपाउनु सरह हुने धेरैको विश्लेषण छ ।

ओलीले बिहीबार नै निर्वाचन क्षेत्रअन्तर्गत कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनले दमकको भेटघाटपछि मध्यान्ह १२ बजे कमल गाउपालिका (केर्खा पेट्रोल पम्प छेउको पार्टी प्यालेस), दिउँसो २ बजे गौरादह (ग्वालडुबाको सामुदायिक हल) र अपरान्ह ४ बजे गौरिगन्ज (खजुरगाछी मन्दिर छेउको हल) मा पार्टी कार्यकर्तासँग छलफल गर्ने बताइएको छ ।

साझ उनले दमकस्थित कामाक्ष होटलमा विशेष भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु