१२ साउन, दमक ।

नेपालमा विवादास्पद र जनस्तरबाट व्यापक विरोध हुँदाहुँदै पनि संसद्बाट पारित गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का मुख्य पात्र मानिएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार काठमाडौं आउँदै छन् ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपरान्ह साढे चार बजेतिर काठमाडौं आइपुग्ने बताइएको छ । एमसीसीपछि लु अर्को प्रकरणका लािग नेपाल आएको आशंका गरिएको छ ।
नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे वहस चलिरहेकै बेला उनको यस हाइप्रोफाइल भिजिटलाई गम्भीर कुटनीतिक चासोका साथ हेरिएको छ ।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए तापनि परराष्ट्र मन्त्रालयले हालसम्म औपचारिक पत्राचार गरिसकेको छैन ।
लु काठमाडौंमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइए पनि परराष्ट्र मन्त्रालयले र अमेरिकी दूतावासले उनको भ्रमण बारे औपचारिक कुनै जानकारी गराएका छैनन् ।
बालुवाटार स्रोतका अनुसार लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन् । देउवा र लुबचि शुक्रबार दिउँसो तीन बजेका लागि भेट तय भएको स्रोतको भनाइ छ ।
त्यस्तै उनले काठमाडौंमा रहँदा परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने समाचार स्रोतले जनाएको छ ।
लु तिनै अमेरिकी अधिकारी हुन् जसले गत मंसिरमा एमसिसी पारित हुनुभन्दा अघि पनि नेपाल आएर चलखेल गरेका थिए । नेपालका शीर्ष राजनीतिक दलका नेताहरुसँग भेटघाट र छलफलपछि अमेरिका पुगेर उनले एमसीसी पारित नगरे सहयोग रोक्ने चेतावनीसमेत दिएका समाचारहरु बाहिरिएका थिए । जसलाई अमेरिकी दूतावासले खण्डन गरेन ।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नुहने निर्णय गरेलगत्तै लुको यो नेपाल भ्रमण देशका लागि अर्को कुटनीतिक दवाव हुन सक्ने आशंका गरिएको छ ।

