adv

बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान ५ को तयारी पूरा

१३ साउन, दमक ।


ग्लोबल भुटनीज लिटिरेरी अर्गनाइजेशन (जिबिएलओ)को आयोजनामा जुलाई २९ देखि ३१ तारिकसम्म आयोजना हुने बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान ५ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक संस्था जिबिएलओका अध्यक्ष कर्ण गुरुङले दिएको जानकारी अनुसार अमेरिकाको पेन्सिभलिया राज्यको ह्यारिसवर्गमा तीन दिनसम्म आयोजना हुने कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पूरा भएको हो ।

गुरुङले भने –‘संस्थाको तर्फबाट आवश्यक सबै तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि सिक्किम भारतका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलगायत विशिष्ट र अन्य आमन्त्रित अतिथिज्यूहरुको आगमन भइरहेको छ । हामी उहाँहरुलाई स्वागत गरिरहेका छौं ।’

नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको कार्यक्रममा नेपाल, भारत र अन्य विभिन्न मुलुकहरुबाट अतिथिहरु निमन्त्रणा गरिएको जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन सिक्किम भारतका पूर्व मुख्यमन्त्री चाम्लिङसहित नेपालबाट प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराई र अन्जना वस्ती, कवि नवराज पराजुली, भारतबाट डा. कविता लामा र विद्या सुब्बा, अमेरिकामै रहेका साहित्यकार कृष्ण धरावासी र गोविन्द गिरी प्रेरणा, न्यजील्याण्डबाट स्रष्टाहरु गोपाल पौडेल, विदुर पौडेल कालेलगायत ह्यारिसवर्ग पुगिसकेका छन् ।

कार्यक्रममा कृति विमोचन, स्रष्टा परिचय, साहित्यिक र सांगीतिक साँझका अतिरिक्त स्रष्टा भ्रमणको समेत आयोजना गरिने छ ।

बृहत् साहित्यिक सम्मेलनमा नेपालदेखि भारत, युरोप र अमेरिकामा रहेका ग्लोबल डायस्पोरा नेपाली सर्जकहरूको जमघट हुने आयोजकको भनाइ छ ।

चर्चित उपन्यासकार लीलाबहादुर क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

बसाइँ उपन्यासका रचनाकार लीलाबहादुर क्षेत्री ।

तीन दिनसम्म चल्ने अनुष्ठानको उद्घाटनसत्रमा स्वीकारोक्ति फाउण्डेशनका तर्फबाट भारतको आसम निवासी चर्चित नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जिबिएलओ बोर्ड अर्फ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए ।

तर, पाको उमेर र स्वास्थ्य स्थितिका कारण चर्चित नेपाली उपन्यास बँसाईका रचनाकार क्षेत्री सो कार्यक्रममा सहभागी नहुने आयोजकको भनाइ छ । क्षेत्रीलाई नेपाली भाषा साहित्यको उन्नयनमा योगदान गरेवापत भारत सरकारले पद्मश्री सम्मानबाट पुरस्कृत गरिसकेको छ । यो भारतको चौंथो सर्वोच्च असामरिक सम्मान हो ।

त्यस्तै क्षेत्रीलाई मदन पुरस्कार गुठीले २०७२ सालको जगदम्बाश्री साहित्यिक सम्मानबाट समेत सम्मानित गरिसकेको छ ।

उनले बसाइँ, ब्रहमपुत्रको छेउ छाउ, अतृप्त उपन्यासका अतिरिक्त असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्तिलगायत चर्चित कृतिहरु रचना गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु