१६ साउन, दमक ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट अलग भएका नेता डा. बाबुराम भट्टराई निजी महत्त्वका विषयलाई लिएर पलायन भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा पार्टीको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराई बारे टिप्पणी गरेका नेता राईले निजी महत्त्वको विषय के के हुन् भन्ने बारे भने बताएनन् उनले भने –‘उहाँहरुको बहिर्गमन जुुँगाको लडाइँ मात्रै हो । किनकि त्यहाँ विचारको लडाइँ, सिद्धान्तको लडाइँ केही पनि थिएन ।’
नेताको कार्यशैली, दम्भ र निजी विषयलाई लिएर पार्टी नै छोड्नुु डा. भट्टराईको गैरजिम्मेवारीपन रहेको उनको राईले टिप्पणी गरे ।
नेता राईले जसपाको विधानमा ‘एक व्यक्ति एक पद’ रहने व्यवस्था रहेको चर्चा गर्दै पार्टी निर्माणमा लाग्ने हो भने केन्द्रीय सदस्यहरुले प्रदेश र स्थानीय तहको समितिमा बसेर काम गर्नुपर्ने बताए ।
पार्टीको केन्द्रीय समिति भन्दा प्रदेश समिति र स्थानीय समितिहरु नै कार्यकारी र शक्तिशाली भएको राईले दावी गरे ।

