adv

लिम्बुवान किरात नामाकरणको लागि आज पनि धर्ना : प्रदेश सभाभित्र गुञ्जायस छैन

हरप्रहडर न्यूज समाचार विश्लेषण ।

२२ साउन, दमक ।


प्रदेश नम्बर १ को नामाकरण पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्छ भन्दै आन्दोलनरत समूहले आज आइतबार पनि प्रदेश सभा अघि धर्ना दिँदैछन् ।

प्रदेश १ को नामारकरण गर्ने बारे प्रदेश सभामा छलफल प्रारम्भ भएसँगै लिम्बुवानजन्य विभिन्न ३५ वटा घटकहरुले लिम्बुवान किरात संयुक्त संघर्ष समिति गठन गरेर दवावमूलक कार्यक्रम गर्दै आएका छन् ।

यद्यपि किरात प्रदेशको माग गर्दै आन्दोलनरत किरात यायोक्खा भने लिम्बुवान बिनाको एकल किरात प्रदेश माग गर्दै अलग्गै आन्दोलन गर्दैआएको छ भने नेपाल आदिवासी जनजाति महासंघले पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकरण गरिनुपर्ने माग राखे पनि ठोस नाम प्रस्ताव गर्न सकेको छैन ।

प्रदेश १ को नामाकरण हुँदा शेर्पालुङ र कोचिलाको समेत सभ्यता र ऐतिहासिकतालाई सम्बोधन गरिनु पर्दछ भन्ने स्वर झिनो गरी उठे पनि यी माग राख्ने समूह सडकमा भने देखिएका छैनन् ।

किरात धर्म (लारुम्बापन्थी) एक समूहले भने यतिबेला प्रदेश नम्बर १ को नामाकरण किरात सगरमाथा राखिनुपर्दछ भनी केन्द्रीय तहमा नेता भेटघाट कार्यक्रम चलाएको छ ।

लिम्बुवान प्रदेश अलग्गै हुनुपर्ने माग गर्दै केही दिनअघि सञ्जुहाङ पालुङ्वा समूहको लिम्बुवान पार्टीले भने प्रदेश नम्बर १ नै खारेज गरिनुपर्ने माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङलाई ज्ञापनपत्र नै बुझाएको थियो ।

यतिबेला प्रदेश सभा अघि अलग–अलग समूहले पालैपालो धर्ना दिने र ध्यानाकर्षण गराउने काम भइरहेको छ ।

प्रदेश सभाको बैठकहरुमा सदस्यहरुले पनि सदनको र सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेका छन् ।

तर, प्रदेश सभाभित्र ठूलो संख्यामा रहेको प्रतिपक्षी दल एमाले भने किरात, लिम्बुवान, कोचिला, शेर्पालुङ जस्ता पहिचानजनित नामका बारेमा छलफलसमेत गर्ने पक्षमा नरहेकाले प्रदेश नामाकरणको विषय टरेर जान सक्ने संसद् सचिवालय स्रोतको दावी छ ।

‘पहिचानको नामलाई समावेश गरेर जाने कुरामा अन्य दलहरु सकारात्मक देखिए पनि एमाले कोशी प्रदेश बाहेक कुनै पनि प्रस्तावमा सकारात्मक देखिएन । अहिलेकै अवस्थामा आन्दोलनहरु त होलान् तर प्रदेशको नामारकण र पहिचान समावेश हुने कुनै गुञ्जायस छैन’, स्रोत भन्छ ।

प्रदेशको नामाकरण बारे सभामा छलफल चलिरहेको बेला दलहरु भने आ–आफ्नै अडानबाट टसको मस हुन सकिरहेका छैनन् । कोशीबाट एमालेले अडान नछाड्दा सप्तकोशीको अडानमा रहेको कांग्रेसले पनि आफ्नो अडानलाई कायमै राखेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र कोशी र किरात मिसाउने पक्षमा देखिन्छ भने ठोस निर्णय गरिनसकेको नेकपा (एकीकृत समाजवादी) बहुपहिचानको पक्षमा छ ।

जसपा किरात–लिम्बुवान–मधेस–शेर्पालुङको पक्षमा खुलेको भए पनि ऊसँग जम्मा ३ सदस्य मात्रै छन् । सभामा १ जना सदस्य रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान/किरात खम्बुवानको पक्षमा छ भने १ सदस्य रहेको राप्रपाले आफ्नो स्पष्ट धारणा अघि ल्याएको छैन । तर ऊ पहिचानको पक्षमा नरहेको स्पष्ट छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु