adv

अन्तर्राष्ट्रिय आदिवासी दिवसमा दमकमा बृहत कार्यक्रम हुने

२२ साउन, दमक ।


नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् दमकले २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (अगष्ट ९) भव्यताका साथ मनाउने भएको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै दमक नगरमा रहेका २२ वटा आदिवासी जनजाति संघसंस्थाको व्यापक उपस्थितिमा कार्यक्रम गर्ने जनाएको हो । यस वर्ष अन्तर्राष्ट्रिय आदिवासी दिवस मंगलबार अर्थात साउन २४ मा परेको छ ।

अध्यक्ष गुमानसिंह तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा दमक नगरपालिकाको मूल गेटमा भेला भएर जातीय झाँकीसहितको र्यालीले दमक नगर परिक्रमा गरी दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा पुगेर कार्यक्रम गर्ने उल्ल्ेख छ ।

महासंघले सबै जातीय संस्थाहरुलाई आ–आफ्नो ब्यानर, जातीय पोशाक र बाजागाजासहित सहभागी हुन पनि आह्वान गरेको हो ।

सन् १९९३ अगष्ट ९ मा संयुक्त राष्ट्र संघले आदिवासी जनजाति अधिकार सम्बन्धि महासन्धि आइएलओ १६९ पारित गरेको दिनलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ ।

राष्ट्र संघले २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको विश्व नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ तय गरेको छ ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघले यस वर्षको नारा ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनाजति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ तय गरेको छ ।

आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले २८औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु