adv

अनलाइन जुवा खेलाउने र सरकारी छाप र कागजात किर्ते गर्ने गिरोह प्रहरीको फन्दामा

६ भदौ, दमक ।

अनलाइनबाट सट्टेबाजी जुवा खेल सञ्चालन गर्ने समूहलाई पक्राउपछि सोमबार दमकमा सार्वजनिक गर्दै प्रहरी ।

अनलाइन गेमिङमार्फत नेपालमा प्रतिवन्धित जुवा खेलाउने र विभिन्न सरकारी कार्यालयको छाप र कागजात किर्ते गर्ने गिरोहलाई प्रहरी पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

प्रदेश प्रहरी कार्यालयको रिट टिम, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रयासमा चार जनाको गिरोहलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

अनलाईन जुवा खेलाउने र सरकारी छाप र सरकारी कागजात दुरुपयोग गरको अभियोगमा प्रहरीले दमक ८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्धय दमक ८ का २५ वर्षीय सतप्रकाश साह र दमक ७ का २७ बर्षिय राजु श्रेष्ठ, कमल २ स्थायी घर भइ योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अरुण कार्की र ब्रिटिश आर्मी तालिम केन्द्रका सञ्चालक दमक ८ का राजु लिम्बूलाई गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्त प्रहरी नायव उपरीक्षक वसन्त पाठकको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा इलाका प्रहरी कार्यालय दमकमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आरोपितहरुले कन्सल्टेन्सीमा अध्ययन तथा शैक्षिक परामर्शका लागि आउने विद्यार्थीहरुको नागरिकता संकलन गरी एनसेलको सिम निकाल्ने र इसेवा आइडी बनाएर अनलाइनमार्फत रकम कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले पद्मा कन्सल्टेन्सी र योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोबाट बिभिन्न कम्पनीका १९ थान मोबाइल, ४ थान ल्यापटप, सिपीयु र प्रयोगमा ल्याइएका २ सय ८० थान र प्रयोगमा नआएका ४५ थान गरी ३ सय २५ थान एनसेलको सिमकार्ड समेत ठूलो मात्रामा बरामद गरेको छ । त्यस्तै नेपालको निशान भएको नक्कली छाप, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको नक्कली छाप, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको नाममा नक्कली छाप, विभिन्न विद्यालय र प्रधानाध्यापकहरुको नाममा नक्कली छाप बरामत गरेको छ ।

 

उनीहरुले करिब दुई महिनाको अवधिमा ८० लाख रूपैयाँ भन्दा बढीको कारोबार गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी पक्राउ परेका चारै जनाविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र लिखत सम्बन्धि कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु गराउनु नहुने भन्ने कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्ष कैद सजाय र १० हजार जरिबाना हुने कानुनी व्यवस्था छ ।

त्यस्तै दफा २७६ को उपदफा ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना हुने उल्लेख छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु