२१ भदौ, दमक । (एजेन्सीको सहयोगमा)
कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।
ट्रस बेलायतमा प्रधानमन्त्री हुने तेस्री महिला हुन् । यसअघि बेलायतमा दुई महिला मार्गरेट थ्याचर र टरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाए अनुसार त्यहाँकी महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन् ।
सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो ।
नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ ।
बेलायतका नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह पहिलो पटक लन्डनबाहिर भएको बिबिसीले जनाएको हो ।
मङ्गलबार बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिनु अघि निवर्तमान प्रम जोनसनले आफ्नो बिदाइ भाषणमा ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए ।
नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्ने बिबिसीले टिप्पणी गरेको छ । चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ ।
यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त बेलायती प्रधानमन्त्री ट्रष्टलाई बधाइ तथा शुभकामना दिएका छन् ।
प्रम देउवाले ट्वीटमार्फत जारी शुभकामना सन्देशमा भनेका छन् –‘म कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री बनेकोमा हार्दिक बधाइ दिन चाहन्छु । लामो समयदेखि रहेको नेपाल–बेलायत सम्बन्धलाई अझै सुमधुर बनाउन म उहाँसँग कार्य गर्न म तत्पर छु ।’