दवाव दिएर अधिकतम सिट लिने रणनीति
१६ असोज, दमक ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र आसन्न निर्वाचनलाई लिएर पाँच दलीय गठबन्धनको विकल्प सोच्ने बारे छलफल सुरु भएको छ ।
निर्वाचनमा सिट संख्याको विषयलाई लिएर गठबन्धनको बैठकमा जसपा असन्तुष्ट देखिएको हो ।
निर्वाचन नजिकिएसँगै प्रत्यक्षतर्फ संघ (प्रतिनिधि सभा) र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड बारे आफूहरुलाई पेल्न खोजिएको गुनासो जसपाले सार्वजनिक रूपमै गरेको छ ।
कतिपयले भने गठबन्धनभित्र जसपाको यो भूमिकालाई अधिकतम सिट प्राप्त गर्ने चुनावी रणनीति भनेका छन् ।
शनिबार सम्पन्न जसपाको केन्द्रीय कार्यकारिणी बैठकमा सिट संख्याको विषयलाई लिएर व्यापक आलोचना र असन्तुष्टि बढेको पार्टी उच्च स्रोतको भनाइ छ ।
पाँच दलीय सत्ता गठबन्धनको एउटा घटक जसपाले चुनावको मुखैमा धार परिवर्तन गर्ने संकेत गरेसँगै मुलुकको चुनावी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । सिट संख्याको दावीमा कुरा नमिलेपछि जसपा या दवाव दिएर अधिकतम सिट प्राप्त गर्ने रणनीतिमा छ । भएन भने गठबन्धनको विकल्पमा एमालेसहित अर्को चुनावी मोर्चा निर्माणको तयारीमा रहेको समेत संकेत उसले गरेको छ ।
प्रतिनिधिसभातर्फ जसपाको मागदावी मधेस प्रदेश सहित देशैभर ३२ सिटमा थियो । गठबन्धनभित्र छलफलका क्रममा भने यो संख्या कटौती गरेर १६ मा झारियो । सिट संख्या कटौती बारे जसपा नेताहरुको असन्तुष्टि संस्थागत रूपमै बाहिरिएको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहेका नेता रामसहाय प्रसाद यादवले गठबन्धनका नाउँमा आफूहरु पेलाईमा परेको जुनासो गरेका छन् ।
उनले भने –‘हामीलाई अलिकति पेल्न खोजिएको छ । यस्तै हो भने हामी अरू दलसँग तालमेल गरी अगाडि बढ्न सक्छौं ।’
धनकुटा जिल्लाबाट चुनाव उठ्ने योजनाका साथ राजनीतिक गतिविधिमा सक्रिय जसपाका प्रभावशाली नेता रकम चेम्जोङ भने सार्वजनिक रूपमा केही बोलेका छैनन् । उनी यादवसँगै जसपातर्फबाट गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य छन् ।
मधेस प्रदेश बाहेक गठबन्धनले जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईलाई सुनसरी क्षेत्र नम्बर १ बाट चुनावी टिकट दिने र हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका राजेन्द्र प्रसाद श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट टिकट दिने विषयमा सहमति भइसकेको छ ।
चेम्जोङले आफ्ना निकटस्थहरुलाई धनकुटामा गठबन्धनबाट टिकट आफूले पाउने भन्दै चुनावी तयारीमा लाग्न निर्देशन दिइसकेका छन् ।
यद्यपि अहिले नै जसपाले पाँच दलीय गठबन्धनको विकल्प खोज्न लागेको भने होइन । जसपा प्रवक्ता मनिष सुमनले भन्छन् –‘अहिल्यै नै गठबन्धनबाट बाहिरिने निर्णय भएको छैन । जुन खालको प्रस्ताव आएको छ, त्यसमा हाम्रो सहमति छैन ।’
जसपाको हिजो शनिबारको कार्यकारिणी बैठकले गठबन्धनभित्र भइरहेको सिट बाँडफाँडको छलफल सम्बन्धमा असन्तुष्टि जनाएको विषय प्रवक्ता सुमनमार्फत सार्वजनिक भइसकेको छ ।
सुमनले जारी गरेको प्रेस नोटमा भनिएको छ –‘सिट बाँडफाँड सम्बन्धि छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निणर्य गरिन्छ ।’
सत्ता गठबनधनबाट बाहिरिएको खण्डमा जसपाको लागि चुनावी तालमेल गर्ने सबै भन्दा निकटको विकल्प एक वर्षअघि मात्रै जसपाबाटै विभाजित दल लोसपा हुन सक्ने देखिन्छ ।
त्यस्तै, जसपाको मनस्थिति अन्य साना दलहरुलाई समेटेर चुनावी मोर्चा बनाउने वा सत्ता प्रतिपक्षी एमालेसँग नै तालमेल गरेर अघि बढ्ने पनि हुन सक्छ ।
जसपाले लोसपासँग तालमेल गर्दा मधेस प्रदेशमा आफूलाई तुलनात्मक रूपमा बलियो महसुस गर्न सक्छ भने एमालेसँगको तालमेल भए पहाडी क्षेत्रमा पनि केही सिट जितेर मधेसमा मात्रै कायम रहेको आफ्नो पहुँच विस्तार हुन सक्ने आँकलन गरेको हुन सक्छ ।

