adv

सेमुक्तु कोक्मा (मुक्कुम्लुङ)को ऐतिहासिक पहिचान कायम राख्न फोनिजको माग

प्रदेशको नाम ‘लिम्बुवान किरात’ वा ‘किरात लिम्बुवान’

१६ असोज, दमक ।

फोनिज तेस्रो प्रादेशिक भेलाको उद्घाटन गर्दै प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामलगायत अन्य अतिथि गण । फोटो : भूमिका फियाक ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को तेस्रो प्रादेशिक भेलाले सेमुक्तु कोक्मा (मुक्कुम्लुङ क्षेत्र)को ऐतिहासिकता तथ्य प्रमाण र दस्तावेजहरुको आधारमा यसको मौलिक पहिचानलाई कायम राख्न माग गरेको छ ।

असोज ११–१२ गते लिम्बुवान भूमिको ताप्लेजुङस्थित फुङलिङमा सम्पन्न भेलाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको दावी गर्दै श्रेष्ठलाई नै महासंघको संस्थापक कायम गर्न समेत माग गरेको हो ।

दुई दिने प्रादेशिक भेलाबाट १२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै फोनिजले नामाकरण बाँकी रहेको प्रदेश नम्बर १ को नाम पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आाधारमा ‘लिम्बुवान किरात’ वा ‘किरात लिम्बुवान’ राख्न पुन दोहोर्याएको छ ।

यसअघि फोनिज प्रदेश नम्बर १ को प्रथम प्रादेशिक महाधिवेशन गाईघाट (उदयपुर), पहिलो प्रादेशिक भेला छथर (तेह्रथुम), दोस्रो प्रादेशकि भेला रासताल (सुनसरी) र फोनिज सातौं संघीय महाधिवेशन सौराहा (चितवन) ले समेत प्रदेश १ को नामाकरण ‘लिम्बुवान–किरात’ वा ‘किरात-लिम्बुवान’ राख्न घोषणा-पत्रमार्फत माग गर्दै आएको थियो ।

माला पालुङ्वाको संयोजकत्वमा गठित विदुर खवास र राम योङहाङ सदस्य रहेको तीन सदस्यीय घोषणा पत्र मस्यौदा समितिले तयार गरेको घोषणापत्रमा आदिवासी जनजातिहरुको दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विकस्थल आदिमा राज्यपक्षबाट हुुने अतिक्रमणको अन्त्य गर्न/गराउन भेलाले प्रण गर्ने उल्लेख छ ।

साथै भेलाले राज्यसमक्ष मातृभाषी पत्रकारिताको विकास, क्षमता अभिवृद्धि, समावेशी सञ्चार नीति निर्माणलगायत सञ्चार क्षेत्रका समस्या समाधान गर्न विभिन्न माग गरेको हो ।

२ दिनसम्म चलेको भेलामा फोनिज प्रदेश १ का पदाधिकारी र सदस्य, जिल्ला शाखा अध्यक्ष र प्रतिनिधि, संघीय पदाधिकारी र सदस्य एवम् सल्लाहकार गरी ५० बढीको सहभागिता रहेको प्रदेश अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

भेलाको उद्घाटन प्रदेश उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । उनले आदिवासी जनजातिका भाषा, कला, संस्कृतिको उजागर र अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा फोनिज संघीय कार्य समितिका अध्यक्ष गजुरधन राई, उपाध्यक्ष अमरध्वज लामा र कमन देवान, सल्लाहकार कौशल चेम्जोङलगायतले फोनिजले आदिवासी जनजातिसँग जोडिएका सबै सवालहरुलाई उठाउँदै आएको र आदिवासी जनजाति पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिका लागि लागिपरेको बताएका थिए ।

फोनिज प्रदेश नम्बर १ समितिको आयोजना र फोनिज ताप्लेजुङ शाखाको व्यवस्थापनमा सम्पन्न दुई दिने भेलाको अन्तिम दिन याक्थुङ लिम्बू मुन्धुममा वर्णित ऐतिहासिक श्रद्धा र आस्थाको केन्द्र सेमुक्तु कोक्मा (मुक्कुम्लुङ) को सामूहिक दर्शन समेत गराइएको फोनिज ताप्लेजुङ जिल्ला शाखा अध्यक्ष दिनेश लिंखिमले जानकारी दिए ।

कार्यक्रममा याक्थुङ समुदायको के लाक्, राई समुदायको साकेला सिली, तमु समुदाय र शेर्पा समुदायले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।

घोषणा पत्रको पूर्ण पाठ :

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७९ असोज ११ र १२ गते ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ७ फुङलिङ बजारमामा सम्पन्न तेस्रो ऐतिहासिक प्रादेशिक भेलाले समसामयिक विषय समावेश गरी १२ बुँदे ‘ताप्लेजुङ घोषणापत्र–२०७९’ जारी गर्दछ ।

१. लिम्बुवान भूमिमा अवस्थित मुक्कुम्लुङको सन्दर्भमा हाल देखिएको विषयप्रति फोनिजको गहिरो ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा ऐतिहाँसिक तथ्य प्रमाण र दस्तावेजहरुको आधारमा यसको मौलिक पहिचानलाई कायम राख्न सम्वद्ध सबै पक्षहरुले अविलम्ब साझा धारणा बनाई यो विषय तत्काल समाधान गर्न यो भेला माग गर्दछ ।

२. पर्यटकीय जिल्ला ताप्लेजुङको पर्यटन प्रवद्र्धनका लागि आयोजित ताप्लेजुङ महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न/गराउन साथै समग्र ताप्लेजुङ जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्वि क र पर्यटकीय स्थलहरुको प्रचारप्रसार, उजागर एवम् प्रर्वद्धन गर्न/गराउन यो भेला प्रण गर्दछ ।

३. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न यो भेला नेपाल पत्रकार महासंघसँग यो भेला विशेष माग गर्दछ ।

४. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउनका लागि यो भेला माग गर्दछ ।

५. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष यो भेला माग गर्दछ ।

६. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन/प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् भन्ने यो भेला माग गर्दछ ।

७. राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चारमाध्यमलाई उपलब्ध गराउने कानूनी व्यवस्था गर्नका लागि यो भेला जोडदार माग गर्दछ ।

८. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो भेला माग गर्दछ ।

९. आदिवासी जनजातिहरुको दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विकस्थल आदिमा राज्यपक्षबाट हुुने अतिक्रमणको अन्त्य गर्न/गराउने यो भेला प्रण गर्दछ ।

१०. पहिले मातृभाषाबाट नामाकरण गरिएका विभिन्न ठाउँहरुको नाम हाल अपभ्रशं गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुनर्उत्थान र पुनःलेखन गर्न÷गराउन यो भेला प्रण गर्दछ ।

११. नेपालको संघीय संरचना अन्तरगत प्रदेशको नामाङकरण हुन बाँकी रहेको प्रदेश १ को नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आाधारमा ‘लिम्बुवान किरात’ वा ‘किरात लिम्बुवान’ राख्न यो भेला जोडदार माग गर्दछ ।

१२. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेश्रो ऐतिहासिक भेलामा आमन्त्रित प्रमुख अतिथि प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगाम, बिशिष्ठ अतिथि प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, विशिष्ठ अतिथि फोनिज संघीय अध्यक्ष गजुरधन राईलगायत केन्द्रीय पदाधिकारी, सल्लाहकार, सदस्य, ताप्लेजुङ जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न जिल्लाका फोनिज अध्यक्ष तथा प्रतिनिधि, स्थानीय व्यवस्थापन तथा समन्वय गर्ने फोनिज ताप्लेजुङ शाखा र शाखाका अध्यक्ष दिनेश लिङखिम नेतृत्वको टिम, साथै भेला सम्पन्न गर्न सहयोग गर्ने अन्य सबैमा यो भेला विशेष धन्यवाद व्यक्त गर्दछ ।
१२ असोज २०७९

घोषणापत्र मस्यौदा समिति
१. संयोजक : माला पालुङ्वा
२. सदस्य : विदुर खवास
३. सदस्य : राम योङहाङ

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु