२९ असोज, दमक ।
इलाम फाकफोकथुम ७ निवासी क्यान्सर रोगी मानबहादुर योङहाङ लिम्बूलाई किरात याक्थुङ चुम्लुङ प्रवास समिति अष्ट्रेलियाले उपचारार्थ आर्थिक सहयोग गरेको छ ।
शुक्रवार दमकस्थित किरात भवनस्थित कियाचु दमकको सभाकक्षमा बिरामी लिम्बूका आफन्तलाई ९७ हजार ८ सय ९७ रूपैयाँ नगद हस्तान्तरण गरिएको हो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिं सम्बाहाङफे, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक र नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले संयुक्त रूपमा विरामीका छोरा मेरिङ योङहाङलाई हस्तान्तरण गरेका हुन् ।
कियाचु इलाम शाखाको विशेष अनुरोध र कियाचु संघीय कार्यालयको सिफारिसमा कियाचु प्रवास समिति अष्ट्रेलियाले क्यान्सर रोगी मानबहादुर लिम्बुको स्वास्थ्य उपचारको लागि सङ्कलन गरिपठाएको दमक नगर अध्यक्ष चेम्जोङले जानकारी दिए ।
६८ वर्षिय लिम्बुको घाँटीको एकातिरको भागमा निस्केको गाँठोमा क्यान्सर भएपछि धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखी केही महिना उपचार गरी थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल चितवन लगिएको थियो ।
हाल उनको बिगत ७ महिनादेखि भरतपुरमै उपचार जारी रहेको छोरा मेरिङले बताएका छन् ।
कियाचु दमक नगर शाखा मार्फत आर्थिक सहयोग उपलब्ध गराईदिने किरात याक्थुङ चुम्लुङ प्रवास समिति अष्ट्रेलिया, कियाचु इलाम जिल्ला शाखा र कियाचु संघीय समितिलाई उनले परिवारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।