आदिवासी रङ्गशाला बनाउने एमालेको योजना : कार्की
१ कार्तिक, दमक ।
नेकपा एमालेको पहिलो राष्ट्रिय एजेण्डा नै चुचे नक्सामा समावेश गरिएको भूभाग फिर्ता ल्याउनु रहेको एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी दिएका छन् ।
मंगलबार झापाको दमकमा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा (क) का प्रत्यक्ष उम्मेद्वार समेत रहेका कार्कीले कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउन चुनावपछि गठन हुने एमाले सरकारले भारतीय सरकारसँग सबै तहको वार्ता र छलफल गर्ने दावी गरेका हुन् ।
त्यस्तै व्यापक चर्चामा रहेको नागरिकता विवाद बारे एमालेले निर्वाचनपछि बस्ने पहिलो संसद् बैठकमा नै नागरिकता विद्येयक पेश गरेर जन्मसिद्धलाई नागरिकता वितरणको बाटो खोल्ने उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण पत्रकार सम्मेलनमा सहभागी हुन नसकेपछि पार्टीका तर्फबाट कार्कीले आधिकारिक धारणा राखेका थिए ।
सोही क्रममा उनले भने –‘आफू जित्ने नभएर एमालेलाई हराउने मात्रै उद्देश्य बोकेको सत्ता गठबन्धनबाट जसपालाई झिकेर चुनावी तालमेलमा ल्याउन सक्नु हाम्रो सफलता हो ।’
कार्कीले आगामी निर्वाचनमा एमाले एक्लैले १ सय ४१ सिटमा उम्मेद्वारी दिएकाले प्रत्यक्षतर्फ १ सय र समानुपातिकतर्फ ४० बढी सिट जितेर बहुमत प्राप्त गर्ने जिकिर गरे । ‘तर एमालेको बहुमतको सरकार बने पनि अहिले चुनावी तालमेलमा रहेका राप्रपा र जसपासँग ५ वर्षे कार्यकाल नै सहकार्य गरिने छ ।’
तिहारपछि लगत्तै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भन्दै नेता कार्कीले झापा ५ का ठूला आयोजनाहरुमा सत्ता गठबन्धनले बजेट रोकेको आरोप लगाए ।
उनले विभिन्न कृषि, भेट्नेरी, औद्योगिक र बागवनीका योजनामार्फत जनतालाई प्रत्यक्ष रोजगारी दिलाइने आश्वासन दिए ।
निर्वाचन आयोगले तोके बमोजिम नै कार्तिक १८ गतेपछि जनताका बीचमा घरदैलो, भेटघाट र छलफल अघि बढाइने जानकारी दिँदै कार्कीले एमाले र केपी ओलीलाई आदिवासी जनजाति विरोधीका रूपमा चित्रण गर्न खोजिए पनि यथार्थ त्यस्तो नरहेको स्पष्ट पारे ।
उनले भने –‘गठबन्धनका नाउँमा गलत प्रचार गर्न खोजिएको छ । तर त्यस्तो होइन । आदिवासी रङ्गशाला हामी त्यही ठाउँमा बनाएर छाड्छौं । यो एमालेको योजनामै समावेश छ ।’
यसैबीच एमाले पोलिटव्यूरो सदस्य एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले एमालेको अघि सत्ता गठबन्धन कम्जोर देखिएको टिप्पणी गरेका छन् ।
सोही कार्यक्रममा निर्वाचन परिचालनको तयारी बारे जानकारी दिँदै दाहालले भने –‘देशको समृद्धि र विकासका लािग एमालेको उम्मेद्वारी हो । तर, सत्ता गठबन्धन के उद्देश्यका लागि चुनावमा गएको हो ? कसको नेतृत्वमा चुनावमा जाँदैछ त्यो उनीहरुलाई नै थाहा छैन । त्यसैले गठबन्धन एमालेको अघि कम्जोर सावित भइसक्यो ।’
एमाले सरकार ढलेपछि विकास निर्माणका अनेकौं योजना अलपत्र परेको भन्दै उनले एमालेले अब पुनः बहुमत पाएपछि सबै योजना पूरा हुने जिकिर गरे ।
केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय र वडा तहसम्म चुनाव परिचालन र अन्य उपसमितिहरु गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै दाहालले चुनावी प्रचारका क्रममा निर्वाचन आयोगको आचार संहिता पालना गरिने बताए ।
कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नम्बर ५ (ख) का प्रत्यक्ष उम्मेद्वार होमबहादुर थापाले दमकको औद्योगिक पार्क सञ्चालनमा ल्याएर ५० हजार भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइने दावी गरे ।
एमालेले बहुमत पाएर सरकार गठन गरेपछि युवाले दुःख गर्न खाडी मुलुक जानु नपर्ने जिकिर गर्दै उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेद्वारहरुलाई मत दिएर जिताउन अनुरोध गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गोपाल पौडेल, एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलगायतको सहभागिता थियो ।