२ कार्तिक, दमक ।
सरकारले देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कार्तिक २ र ३ गते सरकारले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
वडा र गाउँघरमा परिचालित स्वास्थ्य स्वयंसेविकाहरु मार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको हो ।
नेपालमा वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।