२ कार्तिक, काठमाडौं ।
मधेसी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेसीको रूपमा परिभाषित गर्न माग गरेको छ ।
आयोगले वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष यस्तो सिफारिस गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा धेरै थरहरुलाई मधेसी पारिभाषित गर्न आयोगले सिफारिस गरको मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए ।
प्रतिवेदनमा चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेस प्रदेशका ८ जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने आयोगले सिफारिस गरेको छ ।
जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सिफारिस गरेको आयोगले सप्तरीको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन गर्न समेत माग गरेको छ ।
त्यस्तै नेपाल–भारत सीमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याकों समाधानका लागि पहल गर्न, मिथिला कलाको अन्तर्राष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा आयोगले प्रतिवेदनमाफृत जोड दिएको छ ।