१२ कर्तिक, दमक ।
चाडपर्व सकिएसँगै निर्वाचन केन्द्रित गतिविधिमा राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । मंसिर ४ गतेका हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु र स्वतन्त्रतर्फका उम्मेद्वार यतिबेला चुनावी मैदानमा छन् ।
दशैं र तिहार जस्ता पर्वहरु सकिएसँगै दल र स्वतन्त्रतर्फका उम्मेद्वार आ–आफ्नो चुनावी प्रचारका गतिविधिमा फर्किएका हुन् । खासगरी ठूला भनिएका दलहरु र तिनका नेता र उम्मेद्वारलाई यतिबेला निर्वाचन केन्द्रित विभिन्न गतिविधिदेखि आपसी आरोप, प्रत्यारोपमा समेत व्यस्त देखिन थालिएको छ ।
यसैबीच शनिबार सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । चुनावी सरकारको नेतृत्व गरिरहेको कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमार्फत कुनै पनि हालतमा संसद् बिघटन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
२ पटक संसद् बिघटनको असफल प्रयास गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा लेखेको छ –‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुन सक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’
उसले आफ्नो घोषणापत्रमा भनेको छ –‘हामी संकल्प गर्दछौं कि सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्नेछ र सार्वजनिक गर्न बाध्यकारी कानुन हामी निर्माण गर्नेछौं ।’
५२ पृष्ठ लामो घोषणापत्रमा कांग्रेसले मतदाता आकर्षित गर्ने रणनीतिका साथ केही सस्तो लोकप्रियताका कार्यक्रमलाई समेत समावेश गरेको छ ।
आगामी ५ वर्षभित्र ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने, सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने, ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ ।
सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने उल्लेख गरेको कांग्रेसले हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गर्ने र राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेसले आउँदो पाँच वर्षमा साढे १२ लाखलाई रोजगारी दिने भन्दै घोषणा पत्रमा लेखेको छ । स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशतबाट ९ प्रतिशतमा पु¥याइने दावी गरेको कांग्रेसले प्रत्येक वर्ष न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने घोषणापत्रमा लेखे पनि यसको ठोस स्रोतका बारे खुलाउन सकेको छैन ।
उसले यस कार्यमा विदेशबाट फर्किएका युवालाई लक्षित गरेर ‘अबको जीवन स्वदेश’ मै नीति अन्तर्गत विदेशमा हासिल गरेका सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संलग्न गराउने भनेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हरेक राजनीतिक परिवर्तनको आन्दोलनलाई कांग्रेसले नै नेतृत्व गर्दै आएको दावी गर्दै चुनावी घोषणापत्र बारे भने –‘यसको संक्षिप्त थिममा हामीले निरन्तरतामा नवीनता राखेका छौं । नेपाली कांग्रेस पार्टी ७० वर्षदेखि निरन्तर छ । नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्वमा छ । त्यसैले नेपाली कांग्रेसले अबको समयमा नवीन ढंगले प्रस्तुत हुने हो ।’
कांग्रेसले ‘संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासमेत तय गरेको छ ।
हेर्नुस् नेपाली कांग्रेसको चुनावी घोषणापत्र
यसैबीच छैठ पर्व सकेर कार्तिक १५ गते पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारीमा प्रतिपक्षी दल नेकपा एमाले रहेको छ । एमालेले चुचे नक्सा आफ्ना पालामा जारी गरिएको राजनीतिक लाभ लिन खोजेको छ ।
उसले देशका सबै राजनीतिक शक्तिहरुलाई विश्वासमा लिएर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको चुचे नक्सा जारी गरेको भन्दै अब भूमि फिर्ता लिन भारतीय पक्षसँग चुनावपछि बन्ने ओली नेतृत्वको सरकारले सघन वार्ता गर्ने जिकिर गरेको छ ।
राष्ट्रियताका सवालमा आफूलाई खरो देखाउन एमालेले वैवाहिक अंगिकृत नागरिकताको हकमा भने ७ वर्षे समयावधिलाई प्रयोग गर्ने भएको छ । एमाले उच्च स्रोतका अनुसार चुचे नक्सा र नागरिकताको विषयलाई घोषणापत्रमा विशेष स्थान दिइने छ ।
त्यस्तै, एमालेले विकास निर्माणका योजनाहरुको फेहरिस्थसहित समृद्धिको नारालाई चुनावी घोषणापत्रमार्फत मतदाताबीच मसला बनाउने तयारीमा छ ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला गृह जिल्ला झापाका विभिन्न निर्वाचन क्षेत्रहरुमा चुनावी भेटघाट र कर्यकर्ता प्रशिक्षणमा व्यस्त देखिन्छन् ।
शुक्रबार तिहार पर्व सकिएलगत्तै अध्यक्ष ओली झापा आइपुगेका छन् भने सोमबारसम्म उनी आफ्नो निवार्चन क्षेत्र झापा ५ लगायत क्षेत्रहरुमा चुनावी व्यस्ततामा रहने उनको सचिवालयले जनाएको छ ।
‘
मिसन १५०’ अर्थात एमाले एक्लैले आगामी निर्वाचनबाट १ सय ५० सिट जित्ने आफूहरुको लक्ष्य रहेको ओलीलगायत एमाले नेताहरुले चुनावी कार्यक्रमहरुमा भाषण गर्दै हिँड्न थालेका छन् ।
प्रत्यक्षतर्फ एमाले बाहेक कुनै पनि राजनीतिक दलले ८५ भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाउन नसकेको स्थितिमा एमाले आफूले केही जिल्ला र क्षेत्रहरुमा चुनावी तालमेल रहे पनि एक्लै १ सय ४२ क्षेत्रमा उम्मेद्वारी दिएको भन्दै बहुमत एमाले बाहेक अरु दलले चाहेर पनि प्राप्त गर्न नसक्ने दावी गरेको हो ।
चुनावी तालमेल रहेका क्षेत्रहरुमा राप्रपा र जसपाका उम्मेद्वारहरुलाई इमान्दारिताका साथ मतदान गर्न समेत ओलीलगायत एमाले शीर्ष नेताहरुले कार्यकर्ता पंक्तिलाई निर्देशन दिँदै आएका छन् ।
आरोप-प्रत्यारोप सुरु
यसैबीच चुनावी सरगर्मी बढेसँगै दलहरु आरोप–प्रत्योरोपमा उत्रन थालेका छन् ।
कांग्रेसले जारी गरेको घोषणापत्रमा एमाले र अध्यक्ष ओलीलाई संविधान र लोकतन्त्रको चिरहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाइएको छ ।
त्यस्तै कांग्रेसले कोरोना महामारीका बेला भएको मानवीय क्षतिको लागि तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार रहेको समेत आरोप लगाएको छ । जनताको स्वास्थ्य उपचारमा ध्यान नदिएर औषधिजन्य सामग्रीको आयातमा समेत ओली नेतृत्वको सरकारले कमिसन खाएको घोषणापत्रमा आरोप लगाइएको छ ।
यता एमाले अध्यक्ष ओलीले भने सडक निर्माणका लागि भारतीय पक्षले धार्चुलामा गरेको विष्फोटका कारण उछिटिएको ढुङ्गाले लागेर नेपाली बालकको मृत्यु भएको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् ।
दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु भएको घटनालाई आधार बनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् –‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’
घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै ओलीले दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन भनेका हुन् ।
देउवा र गठबन्धन सरकार भारतीय पक्षसँग मौन रहेको भन्दै ओलीले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् ।