adv

मुलुकलाई दुर्घटनाबाट जोगाउन तालमेल : राजकुमार यादव

१२ कार्तिक, विराटनगर ।


मोरङ क्षेत्र नम्बर ५ का जसपा–एमाले साझा उम्मेद्वार राजकुमार यादवले मुलुकलाई दुर्घटनाबाट जोगाउन जसपा–एमाले चुनावी तालमेल गर्नुपरेको बताएका छन् ।

शनिबार दुवै पार्टीले विराटनगर १४ स्थित संयुक्त चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटनका क्रममा प्रतिनिधि सभाका उम्मेद्वार यादवले यस्ता बताएका हुन् ।

जसपा र एमालेबीच चुनावी तालमेल मुलुकको आवश्यकता रहेको जिकिर गर्दै यादवले भने –‘यो तालमेलमा सबै इमान्दार बन्नु पर्छ । किनभने केन्द्र र प्रदेशमा सरकार गठन गर्न एक सिटको पनि ठूलो महत्त्व हुन्छ ।’

राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भनाइ रहेको स्मरण गराउँदै उनले मुलुकको निकास र विकासको लागि जसपा–एमाले सहकार्य अपरिहार्य बनेको दावी गरे । उनी जसपाको प्रदेश १ उपाध्यक्ष र मोरङ जिल्ला अध्यक्षसमेत हुन् ।

वर्तमान गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गर्दै यादवले भने –‘अहिले देशमा देखिएको आर्थिक संकट असफल अर्थमन्त्रीको कारण हो । यदि सत्ता गठबन्धनले फेरि पनि चुनाव जितेर सरकार बनायो भने मुलुक र जनताले थप संकट व्यहोर्नुपर्छ । हामी त्यो अवस्थालाई रोक्न चाहन्छौं ।’

गठबन्धनको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्दै उनले चुनाव जितेर जानेहरुले जनताको सुख, दुःखमा साथ नदिएको दावी गरे ।

माओवादी नेता एवम् पूर्व सांसद शिवकुमार मण्डलतर्फ लक्षित गर्दै यादवले भने –‘ शिवकुमार मण्डललाई जनताले ५ वर्षसम्म देखेनन् । म त दुई दुई पटक हारेर पनि जनताको घरमा बाढी पस्दा वा दुःख पर्दा सदैव तपाईहरुकै सेवामा हाँजिर छु, सकेको सहयोग गरिरहेको छु । यस पटक हामीलाई जिताउनुस् ।’

मोरङ ५ को प्रदेश सभा (१) तर्फ एमालेका सन्तोष साह र मोरङ ५ को (२) मा जसपाका केन्द्रीय नेता जयराम यादव उम्मेद्वार छन् ।

प्रदेश १ को स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले कार्यालय उद्घाटन गरेका थिए भने एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, एमाले नेता भूराज राईलगायतले मोरङमा जसपा र एमालेबीच चुनावी तालमेल भएपछि सत्ता गठबन्धनको होस हवास् उडेको जिकिर गरेका थिए ।

कार्यक्रममा बोल्दै तीनै जना उम्मेद्वारहरुले निर्वाचनको मिति नजिक आइसकेकाले सबै जनताका घर–घरमा पुग्न सम्भव नभएमा जसपा र एमालेका कार्यकर्ताहरुले जनताको घरघरमा पुगेर सम्झाइ बुझाइ मत मागिदिन आह्वान गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु