१२ कार्तिक, दमक ।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको र राज्य कोषबाट सुविधा लिएको प्रमाणित भएको भन्दै निर्वाचन आयोगले उनलाई उम्मेद्वार हुन अयोग्य कायम गर्ने निर्णय गरेको हो ।
डा. कार्कीविरुद्ध उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेपछि आयोगले सो बारे आवश्यक छानबिन गरेको बताइएको छ ।
आयोगले दिएको जानकारी अनुसार डा. कार्की गत २०७८ पुष २ गतेदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रूपमा वहाल रहेको पाइएको हो । आयोगले प्रकाशन गरेको शनिबारको बुलेटिनमा भनिएको छ –‘नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइयो ।’
आयोगको बुलेटिनमा प्रकाशित समाचारमा लेखिएको छ –‘अतः प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ ।’

