adv

इरानमा जारी प्रदर्शनमा २ सय बढीको मृत्यु भएको दावी

१२ कार्तिक, दमक । (एजेन्सीको सहयोगमा)


एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरु भएको प्रदर्शनमा इरानको जेहेदान सहरमा २ सय जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

जेहेदान सहरमा बिगत ६ हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन चर्किँदै जाँदा निरन्तर झडपहरू भएका र २ सय बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

प्रहरी हिरासतमा एक कुर्दिश युवतीको मृत्यु भएपछि इरानमा थप उग्र प्रदर्शनहरू भएका बताइएको छ ।

प्रहरीले टाउकोमा लट्ठी प्रहार गरेका कारण उनको मृत्यु भएको विवरण आएको छ । तर प्रहरीले त्यस्तो आरोप अस्वीकार गर्दै उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेको छ ।

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी कुर्दिश–इरानी मूलकी महसा अमिनीको गत महिना प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरु भएको थियो ।
त्यहाँको एकजना वरिष्ठ प्रहरी अधिकारीले मृत्युको घटना पुष्टि गरेका छन् ।

समाचारमा उल्लेख भएअनुसार सामाजिक सञ्जालमा प्रेषित भिडियोहरूमा प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ ।

हिजो शुक्रवारको झडपमा मात्रै त्यहाँ एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इरानमा जारी रहेको प्रदर्शन दशकौँ पछिको सबैभन्दा ठूलो भएको समाचारहरूमा उल्लेख छ ।

प्रदर्शन र झडपका घटना बढ्दै गएपछि सरकारलाई गम्भीर चुनौती खेप्नुपरेको बताइएको छ ।

प्रदर्शन बढ्दै जाँदा त्यहाँ थप स्वतन्त्रतासहित सरकार परिवर्तनका मागहरू पनि उठेको खबर छ ।

महिलाहरूले आफ्नो हिजाब आगोमा जलाएको र सार्वजनिक स्थलमा केश काटेर विरोध जनाएको भिडिओहरूमा देख्न सकिन्छ ।

प्रदर्शनमा सहभागी महिलाहरूले ‘महिलाको स्वतन्त्र जीवन’ को नारा लगाएका छन् भने सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईलाई तानाशाहको सङ्ज्ञा दिँदै उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् ।

अहिलेको स्तरमा यसअघि कहिल्यै प्रदर्शन भएको थिएन । प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विद्यालयका विद्यार्थीहरूले पनि विद्यालयका मैदान र सडकमा प्रदर्शन गरेका छन् ।

महिलाले उठाएका मागमा समर्थन जनाउँदै पुरुष र किशोरहरू पनि प्रदर्शनमा सहभागी भएका छन् ।

नर्वेमा कार्यालय रहेको इरान ह्यूमन राइट्सका अनुसार अहिलेसम्म २ सय ३४ जना सरकारी सुरक्षाकर्मीको हातबाट मारिएका दावी गरेको छ । तीमध्ये २९ जना बालबालिका रहेको सो संस्थाले जनाएको छ ।

बीबीसी तथा अन्य स्वतन्त्र सञ्चारमाध्यमलाई इरानमा समाचार संकलनमा रोक लगाइएको खबर छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता र अन्य मानवाधिकारकर्मीहरूले त्यहाँबाट तस्वीर पठाउन थालेपछि प्रशासनले इन्टरनेट र टेलिफोन सेवा समेत अवरुद्ध गर्दै आएको छ ।

सुरक्षा निकायले शान्तिपूर्ण प्रदर्शनमा भेला भएका मानिसको हत्या भएको आरोप अस्वीकार गर्दै आए पनि विभिन्न माध्यमबाट सार्वजनिक भएका भिडिओहरूमा उनीहरूले हतियार चलाएको प्रत्यक्ष देख्न सकिन्छ ।

इरानमा राष्ट्रपतीय निर्वाचनमा विवाद भएपछि सन् २००९ मा दशौँ लाख मानिसहरू विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

आर्थिक मन्दीका कारण यहाँ सन् २०१७ र २०१९ मा पनि ठूला प्रदर्शनहरू भएका थिए । तिनमा पनि काम गरेर खाने वर्ग मात्रै सहभागी भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु