१३ कार्तिक, दमक । (एजेन्सीको सहयोगमा)
दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १ सय ५३ जनाको मृत्यु भएको खबर छ ।
हेलोइन मनाउनका लागि सोलको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको र भीडमा अकास्मत भागदौड मच्चिँदा मानिसहरु किचिएर र निस्सासिएर मरेका बताइएको हो ।
कोरियाली आपतकालीन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ । घटनामा ८२ जना घाइते भएका छन् ।
शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । सोलको महानगर सरकारले घटनापछि अझै ३ सय ५५ जना हराइरहेको उजुरी प्राप्त भएको बताएको छ ।
घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन शुक–योलले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले घाइतेहरूको उपचारका लागि कार्यदल बनाउन पनि भनेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले एक सन्देश मार्फत घटनामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
नेपाली परेका छैनन्
सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको जनाएको छ ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले भनेकी छन् –‘घटनामा हालसम्म एकै जना पनि नेपाली नागरिक परेको विवरण आएको छैन ।’
यसैबीच प्रधानमन्त्री शेर बहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दक्षिण कोरियाली सरकार र जनता तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।